कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

जलवायु परिवर्तनको असर बुझ्न उपसभामुख नेतृत्वको टोली खुम्बुमा

फाल्गुन २१, २०७९
जलवायु परिवर्तनको असर बुझ्न उपसभामुख नेतृत्वको टोली खुम्बुमा

सोलुखुम्बु — जलवायु परिवर्तनले उच्च हिमाली भेगका महिला र स्थानीय जनजीवनमा पारेको असरबारे अध्ययन गर्न अभियन्ताहरूको टोली लुक्ला आइपुगेको छ । प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानामगरको नेतृत्वमा विभिन्न क्षेत्रमा स्थापित महिलासहितको पदयात्रा टोलीले अन्तर्राष्ट्रिय महिला दिवसको दिन सगरमाथा क्षेत्रको खुम्जुङमा विशेष अन्तरक्रिया गर्दैछ ।

स्थानीय तहको सहकार्यमा हुने उक्त अन्तरक्रियामा जलवायु परिवर्तनको असरबाट पीडित महिला, बालबालिका, वृद्धवृद्धासहितले भोगेको समस्या उजागर गरिनेछ । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको 'साथसाथै फाउण्डेशन'ले संयोजन गरेको यो पदयात्रामा राष्ट्रियसभा सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौड्याल, अभियान्ताहरू शरु श्रेष्ठ जोसी, यमुना घले, कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटी, साथसाथैका अध्यक्ष प्रजिता कार्की, जलवायुविज्ञ माधव कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतसहितको सहभागिता छ ।

जलवायु परिवर्तन र वातावरणका क्षेत्रका कार्यरत साथसाथैले गत वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवसकै अवसरमा सगरमाथाको कालापत्थरमा एक कार्यक्रम गरी ‘कालापत्थर घोषणापत्र’ जारी गरेको थियो । ‘कालापत्थर घोषणापत्र’ पछि सो क्षेत्र आसपास वर्सेनि कार्यक्रम गर्ने योजनाअनुसार यो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।

‘कार्यक्रम मार्फत् हामी जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष यूएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका समस्या उजागर गरोस् भनी सम्बन्धित निकायलाई दबाब दिन चाहन्छौं,’ अध्यक्ष कार्कीले कान्तिपुरसित भनिन् ।

हिमाली जनजीवन, विशेषगरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने, विश्व तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेको चिन्ताबारे ध्यानाकर्षण गराउने कार्यक्रमको उद्देश्य रहेको छ ।

संस्थाले यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (यूएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, यूएनडीपी, ईसीमोड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बुपासाङल्हमु गाउँपालिका लगायत सङ्घसंस्था र निकायको सहकार्य रहको आयोजकले जनाएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७९ १९:१९
×