२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

पुलको कामै नसकी यातायात सञ्चालन

डम्बरसिं राई

खोटाङ — सगरमाथा लोकमार्गमा पर्ने फोक्सिङस्थित सुनकोसी नदीमा निर्माणाधीन पुलको कामै नसकी यातायात सञ्चालन गरिएको छ । उदयपुरको रौतामाई गाउँपालिका ५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चे जोड्ने पुलमा बिहीबार यातायात सञ्चालन गरिएको हो ।

पुलको कामै नसकी यातायात सञ्चालन

उक्त पुलको बेरिङकोट, एप्रोज रोडलगायतका कामै नसकी पुल सञ्चालनमा आएको हो । करिब १९ करोड ६० लाख रुपैयाँको लागतमा गौरी पार्वती वाईपी जेभीले २०७५ चैतमा सक्ने गरी ठेक्का लिएको थियो । तर ढिलासुस्तीका कारण अझै पुलको काम सकिएको छैन । पुल सेक्टर नम्बर १ धरानका योजना प्रमुख प्रदीप भण्डारीले भने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘पुलको काम अन्तिम चरणमा पुगको छ‚’ भण्डारीले भने‚ ‘एक महिनाभित्र सकिन्छ ।’

उक्त पुल निर्माणमा सम्बद्ध कम्पनीले पनि एक महिनाभित्रमा काम सक्ने जानकारी गराएको भण्डारीले सुनाए । ‘फिनिसिङका लागि आवश्यक निर्माण सामग्री पुगिसकेको जानकारी गराएको छ‚’ भण्डारीले भने‚ ‘अब एक महिनाभित्र काम सक्छु भनेको छ ।’

यातायात सञ्चालनबारे प्रश्न गर्दा पब्लिकको प्रेसर भएर सञ्चालन भएको हुन सक्ने भण्डारीले सुझाए । पुल सञ्चालन गर्न खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राईलगायत उपस्थिति थियो । निर्माण कम्पनीले खोटाङेलाई हेपेर काममा ढिलासुस्ती गरेकाले जनताको मागबमोजिम पुलमा यातायात सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । उक्त कामको ठेक्का २०६९ चैत्र २३ गते ठेक्का लागेको थियो ।

पुलबाट यातायात सञ्चालनपछि जिल्लामा उपभोग्यलगायत अन्य वस्तुको मूल्य घट्ने नेपाल चेम्बर्स अफ कमर्स खोटाङका अध्यक्ष खुसनारायण सैजूले बताए । उक्त सडक खण्ड छोटो दूरी भएकाले प्रतिकेजी पाँच रुपैयाँसम्म सस्तो हुने सैंजूले सुनाए ।

उक्त सडक खण्डको माहुरे-फोक्सिङटार सडक भने अपूरै छ । २०५१ सालमा अशोक राई यातायात राज्यमन्त्री भएको बेला सुरु यो सडक २७ वर्ष पूरा भइसक्दा पनि अपूरै छ ।

प्रकाशित : पुस ७, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?