मन्त्रालय र मन्त्री थप्दा खर्च बढ्यो
विराटनगर — पाँचदलीय गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले दलीय भागबन्डा मिलाउन मन्त्रालयको संख्या बढाएकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा पदाधिकारी र कर्मचारीको पारिश्रमिक र सुविधामा मात्रै ३७ दशमलव ८४ प्रतिशत खर्च वृद्धि भएको छ ।
चालु आवको बजेटमा पारिश्रमिक र सुविधामा २ अर्ब ३६ करोड ९३ लाख ५३ हजारमा वृद्धि गरेर आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आउँदो आवका लागि ल्याएको बजेटमा ३ अर्ब २३ करोड ५८ लाख २१ हजार पुर्याएका छन् । पारिश्रमिक र सुविधामा गत वर्षको बजेटमा २२ दशमलव ७४ प्रतिशतमात्रै चालु आवको बजेटमा वृद्धि गरिएको थियो ।
यस्तै, मन्त्रालयसँगै मन्त्रीको संख्या बढेकाले पदाधिकारीको इन्धनमा मात्रै यस वर्ष ल्याएको बजेटमा ११९ प्रतिशतले वृद्धि गरिएको छ । पदाधिकारीको इन्धनमा चालु आवको बजेटमा विनियोजन गरिएको १ करोड १० लाख ३६ हजारमा वृद्धि गरेर २ करोड ४१ लाख ७१ पुर्याएको हो । पदाधिकारीको भता तथा अन्य सुविधामा ४१ दशमलव ८१ प्रतिशतले वृद्धि गरिएको छ । उक्त शीर्षकमा चालु आवमा ३ करोड ७९ लाख ६४ हजार विनियोजन गरिएकामा ५ करोड ३५ लाख ९८ हजार पुर्याएको छ ।
कर्मचारीको सुविधामा यस वर्ष विनियोजित ३३ करोड २८ लाख ८० हजारमा ८५ दशमलव ४६ प्रतिशत अर्थात् ६१ करोड ७३ लाख ५० हजार वृद्धि गरिएको छ । कार्यालय प्रयोजनको इन्धनमा यस वर्ष विनियोजित १० करोड १५ लाख २२ हजारमा ६२ दशमलव ७५ प्रतिशत् अर्थात १६ करोड ५२ लाख २५ हजार वृद्धि गरिएको हो । संचार महसुलमा यस वर्ष विनियोजित ३ करोड ४३ लाख ५२ हजारमा ५७ दशमलव ७२ प्रतिशतले वृद्धि गरी ५ करोड ४० लाख ८० हजार विनियोजन गरिएको छ । पानी र विजुलीमा चालु आवभन्दा ५४ दशमलव ५८ प्रतिशत वृद्धि गरेर आउँदो वर्षका लागि ९ करोड ६५ लाख ३३ हजार विनियोजन गरिएको छ ।
कार्यालय सामान तथा सेवामा चालु आवमा विनियोजित १७ करोड ५५ लाख २९ हजारमा ४४ प्रतिशतले वृद्धि गरी २५ करोड २८ लाख ४२ हजार विनियोजन गरेको छ । मन्त्रालय थपिए पछि मन्त्रीहरू लगायतलाई बस्न घर भाडाका लागि ८ करोड २८ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ । कार्यालय प्रयोजनका लागि फर्निचर तथा फिक्चर्समा यस वर्ष विनियोजित ५ करोड ४ लाख ६ हजारमा ५६ दशमलव ७९ प्रतिशतले वृद्धि गरी ७ करोड ९० लाख ३२ हजार विनियोजन गरिएको छ ।
प्रकाशित : असार ११, २०७९ ०८:५४