सहमति भए चुनावअघि नै संविधान संशोधन गर्न सकिन्छ : गृहमन्त्री खाँण

चैत्र १९, २०७८

चन्द्र कार्की

तेह्रथुम — गृहमन्त्री बालकृष्ण खाँणले ठूला राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति भएमा स्थानीय तह निर्वाचन अगाडि नै भए पनि संविधान संशोधन गर्न सकिने बताएका छन् ।

संविधान स्थायी नभएको भन्दै मन्त्री खाँणले जनताको माग र आवश्यकता अनुसार संविधान संशोधन भइरहने बताए । जिल्ला प्रशासन कार्यालयको नवनिर्मित अढाइ तले भवन, म्याङलुङको शनिबार उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सहेत रहेका खाँणले यस्तो बताएका हुन् ।

केही समूह, जाति र राजनीतिक पार्टीले संविधान संशोधनको माग गरिरहेको प्रसंग निकाल्दै संविधान संशोधन नै गर्न सकिने विषय भएको बताए ।

यस्तै आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा हुने भन्दै सबै राजनीतिक पार्टीलाई चुनावमा भाग लिन उनले आग्रह गरेका थिए । आगामी स्थानीय तहको निर्वाचनमा हाल कायम रहेका जनप्रतिनिधिले भाग लिन चाहेमा पद त्याग गर्नुपर्ने निर्वाचन आयोगको निर्णयप्रति सरकारले पुनर्विचारका लागि आयोगलाई पत्राचार गरेको पनि उनले जनाए ।

अर्को प्रसंगमा मन्त्री खाँणले पछिल्लो समय देशमा पर्यटकीय गतिविधि खस्किएको र त्यसको असर समग्र अर्थतन्त्रमा परेको भन्दै गृह मन्त्रालयले २४ सै घण्टा होटल तथा रेष्टुरेन्ट खुला गरी संचालन गर्न पाउने कानुन पारित गरिसकेको बताए ।

‘अब पहिलेको जस्तो होटल तथा रेष्टुरेन्ट निश्चित समयपछि बन्द गर भन्दै प्रहरी आउँदैन’ मन्त्री खाँणले भने ‘सरकारले बनाएको नियम पालना गरी मज्जाले व्यवसायीले आम्दानी गर्न सक्छन् ।’

मन्त्री खाँणले अतिरिक्त समयमा काम गर्ने कर्मचारीको सुविधा वृद्धिका लागि अर्थमन्त्रालय समक्ष पत्र लेखी पठाएको समेत जानकारी दिए । ८ करोड ८४ लाख ८९ हजार २ सय ७६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको प्रशासन कार्यालयको अढाइ तले भवन गृहमन्त्रालयको सहयोगमा सुनकोसी निर्माण सेवाले निर्माण गरेको हो ।

चन्द्र

Link copied successfully