कांग्रेसको बुढो रुख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ हरियो बनायो : ओली- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको बुढो रुख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ हरियो बनायो : ओली

'कंग्रेस सुख्खा परेका बाँझो खेत, प्रचण्ड हजार जिब्रा भएका शेषनाग'
कान्तिपुर संवाददाता

मोरङ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई 'सुख्खा परेको बाँझो खेत' र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई 'हजार जिब्रा भएको शेषनाग' भएको संज्ञा दिएका छन् ।

एमाले मोरङले बुधबार रंगेलीमा आयोजना गरेको ‘तराई मधेस बृहत् जनसभा’मा अध्यक्ष ओलीले कांग्रेस सुख्खा परेको बाँझो खेत भएकाले केही नउम्रिने टिप्पणी गरेका हुन् । ‘कांग्रेसको बुढो रुख बिस्तारै ढल्दैछ अब हरियो हुनेवाला छैन,’ उनले भने, ‘तर बुढो रुख बचाउन निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्ने निर्णय गरेको छ ।’

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रमा भएको चुनाव चिह्न हरियो रङ बनाउने निर्णयको ओलीले विरोध गर्दै आएका छन् । तर चुनाव चिह्नमा हरियो रङ राख्दैमा कांग्रेसको रुख हरियो नहुने उनले टिप्पणी गरेका थिए ।

यस क्रममा ओलीले कुनै पार्टीको चुनाव चिन्हको रङसँग मिल्ने मतपत्रको चुनाव चिह्नको रङ राख्न नहुने तर्क गरे ।बरु उनले मतपत्रको चुनाव चिह्नको रङ रातो राख्नुपर्ने माग गरेका थिए । निर्वाचन आयोगले भने मंगलबार मतपत्रको रङ हरियो हुँदा स्पष्ट देखिने भएकाले उक्त रङको प्रयोग गरिएको जनाएको थियो ।

‘कांग्रेसमा अलमलिएर रहेकाहरुलाई आग्रह गर्न चाहन्छु एमालेको विरोध गरेर जनता अलमल्याएर भ्रममा पारेर केही गर्छु भनेर चाहेको छ भने त्यो जमाना गयो । अब जनता अलमलिनेवाला छैन,’ उनले भने, ‘एमालेको सरकार जनताले ढालेको छैन जनताको आशिर्वाद एमालेसँग छ । हामी स्थानीय तहबाट विजयको यात्रा सुरु गर्छौं किनकि अबको विजय यात्रा एमालेको हो ।’

एमालेभित्र अगाडिदेखि घुसपैठ गरेर बसेका केही 'नक्कली मान्छे'हरुले पार्टी मजबुत भएपछि फेदमै बञ्चरो हानेकाले सरकारबाट बाहिर बस्नु परेको ओलीले बताएका थिए । अहिले उनीहरु पिलो निचोरिए जस्तो भएको ओलीले टिप्पणी गरे ।

‘माधव कुमार नेपालले एमाले चोइट्याएर पार्टी बनाएको छ तर नबन्दै बिग्रिसकेको छ । बन्दैन त्यो पार्टी,’ उनले भने, ‘उनीहरु गएर एमालेलाई हाइसञ्चो भएको छ र एमालेबाट चोइटिएर गए पनि पार्टीलाई कुनै नोक्सान भएको छैन ।’ एमालेको सही नीति र गुमेको नेपाली भूभाग फिर्ता ल्याउने नीतिले अन्य पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरिरहेको उनको भनाइ थियो ।

यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हजार जिब्रा भएको शेषनागको संज्ञा दिए । ‘पुष्पकमल दाहाल दुई जिब्रे होइन, हजार जिब्रा भएका शेष नाग हुन्,’ उनले भने, ‘बिहानदेखि रातिसम्मै उनको छिनछिनमा फरक फरक कुरा हुन्छ । त्यसखालको पार्टी हो माओवादी पार्टी । दाहालले कहिले मान्छे मार्न लगाएका छन् कहिले जनयुद्ध भनेर मान्छे होमिदिएका छन् अनि आफ्ना र आफ्ना परिवार, आफन्तका निम्ति काम गरेका छन् ।'

दाहालको पार्टी भ्रमको पार्टी भएको पनि ओलीको आरोप थियो । ‘यता फर्किँदा एउटा र उता फर्किँदा अर्कै अनुहार छ प्रचण्डको,’ उनले भने ।

प्रकाशित : फाल्गुन २५, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

चुनावी तालमेलबारे बोल्ने बेला भएको छैन : खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चुनावमा तालमेल गर्ने/नगर्नेबारे बोल्ने बेला नभएको बताएका छन् । स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले पार्टीमा व्यापक छलफल गरेर मात्रै गठबन्धनको विषयमा टुंगोमा पुग्ने बताएका हुन् । उनले चुनावी गठबन्धनको विषयमा छलफल हुनुपर्ने बताए ।

'गठबन्धन सरकार छ । गठबन्धनमा भएका पार्टीहरू अहिले पहिलो चरणमा हामी जनताको बीचमा जाँदैछौं। अहिले नै गठबन्धन गर्ने वा नगर्ने भन्ने अहिले छलफलकै विषय हो,' उनले भने, 'गठबन्धनमा विषयमा निर्वाचन प्रक्रिया सुरु भएपछि पार्टीमा व्यापक क्षलफल गरेर टुंगोमा पुग्छौं । अहिले यो विषय अपरिपक्क विषय हो ।'

उपसभापति खड्काले गठबन्धनमा पार्टीले एउटा सहमति गरेर मात्रै गठबन्धनका बारेमा निर्णयमा पुग्ने प्रस्ट पारे । गठबन्धनका विषयमा केन्द्रीय समिति बैठकपछि मात्रै टुंगो लाग्ने पनि उनको भनाइ थियो । कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म चुनावी अभियान सुरु गर्दैछ ।

प्रकाशित : फाल्गुन २५, २०७८ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×