२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
राष्ट्रिय सभा

प्रदेश १ को खुलातर्फ मत बराबर, गोलाप्रथाबाट गठबन्धन विजयी

देवनारायण साह

मोरङ — प्रदेश १ मा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा खुला र महिलातर्फ सत्तारुढ गठबन्धन विजयी भएको छ भने अल्पसंख्यक र अपांगतर्फ एमाले विजयी भएको छ ।

प्रदेश १ को खुलातर्फ मत बराबर, गोलाप्रथाबाट गठबन्धन विजयी

खुलातर्फ सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई निर्वाचित भएका छन् । यस्तै अल्पसंख्यक तथा अपांगतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

खुलातर्फ बस्नेत र एमालेका गुरु बरालको बराबर मत आएपछि गोलाप्रथाबाट छिनोफानो गरिएको थियो । निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालका अनुसार बस्नेत र बरालको समान ४ हजार ४८८ र राप्रपाका अमर बिष्टले १८८ मतभार प्राप्त गरेका हुन् । जसमध्ये ४ वटा मत बदर भएको लम्सालले बताए ।

यस्तै एमालेका शेर्पा ४ हजार ७३४ मतभार ल्याएर विजयी भएका हुन् । सत्तारुढ गठबन्धनका जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईले ४ हजार ३६८ मतभार प्राप्त गरेको र ४ वटा मत बदर भएको लम्सालले बताए ।

महिलातर्फ सत्तारुढ गठबन्धनबाट उम्मेदवार भएकी नेकपा (एकीकृत समाजवादी) की राई ४ हजार ६९२ मतभार ल्याएर विजयी भएकी हुन् ।

एमालेको महिलातर्फ उम्मेदवार सुमित्रा भण्डारीले ४ हजार ३६२ र राप्रपाकी रन्जु प्याकुरेलले १२० मतभार प्राप्त गरेको उनले बताए । जसमध्ये तीन मत बदर भएको लम्सालले बताए ।

बुधबार बिहान ९ बजे सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । त्यसपछि लगत्तै मतगणना सुरू गरिएको थियो । लम्सालका अनुसार दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद मतदानमा अनुपस्थित थिए । स्थानीय तहतर्फ २७० र प्रदेश सभा सदस्यतर्फ ९१ मत खसेको लम्सालले बताए ।

झापाको गौरीगंज गाउँपालिका प्रमुख बाबुराज श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की मतदानमा अनुपस्थित भएका हुन् । श्रेष्ठ छोरीको विवाहका कारण उपस्थित हुन नपाएको बताएकी थिइन् भने कार्की स्वास्थ्यसम्बन्धी समस्याका कारण निर्वाचनमा मत खसाल्न आएनन् ।

उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार रहेकी एमाले सांसद गुलेफुन खातुन पनि मतदान गर्न आइनन् ।

प्रकाशित : माघ १२, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x