कोसीमा २० वर्षपछि देखियो दुर्लभ हांस प्रजातिको चरा

सुनसरी — जलपंक्षी गणना गर्ने क्रममा २ दशकसम्म हराएको हांस प्रजातिको दुर्लभ चरा फेरि देखिन थालेको छ । सुनसरीको कोसीटप्पु आसपासमा चरा गणना भइरहँदा ग्रेटर ह्वाइट फ्रन्टेज गुज नामको चरा आइतबार देखिएको हो ।

कोसीटप्पु क्षेत्रको राजाबासमा हाल विज्ञ तथा गाइडहरूले चरा गणना गरिरहेका छन् । कोसी बर्ड सोसाइटीका पूर्वअध्यक्ष तथा कोसीटप्पु लर्निङ ग्राउण्डका नेचर गाइड अनिस तिम्सिनाका अनुसार कोसीटप्पु नजिकैको राजाबासमा २० वर्षअघि ग्रेटर ह्वाइट फ्रन्टेज गुज देखिए पनि प्रत्येक वर्षको जलपंक्षी गणनामा उक्त चरा देखिएको थिएन ।
‘आइतबार राजाबासमा फेरि अचानक ग्रेटर व्हाइट फ्रन्टेड गुज चरा देखियो ।’ उक्त चरा २ दशकअघि सूचिकृत भएको थियो । पूर्वका चराहरूको राजधानी मानिएको सुनसरी–सप्तरी र उदयपुरमा पर्ने कोसीटप्पु वन्यजन्तु आरक्ष आसपासका साथै बर्जुताल, तरहराको सिमसार, मोरङको बेलबारीको वेतना ताल, उर्लाबारीको मंगलबारेको सिमसारमा जलपंक्षी गणना भइरहेको तिम्सिनाले बताए ।
पूर्वमा हिमालय नेचर, केटीके बेल्ट, जेटएसएल, जेटएनसी, केविओ, नेपाल पंक्षी समाज, कोसीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेनाको शत्रुभञ्जन गुल्म र वराह क्षेत्र नगरपालिकाको सहयोगमा जलपंक्षी गणना सुरु भएको हो । जलपंक्षी गणना टोलीमा चराविद् तिम्सिना, सञ्जीव आचार्य, विमल तिम्सिना, चक्र तिम्सिना, दिनेश घिमिरे, सम्झना कार्की, इन्दिरा कार्कीलगायत रहेका छन् ।
प्रकाशित : पुस १८, २०७८ १७:५३