१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

प्रदेश १ मा चार मन्त्री र एक राज्यमन्त्री नियुक्त

देवनारायण साह

मोरङ — प्रदेश १का मुख्यमन्त्री राजेन्द्र राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त भएका छन् ।

प्रदेश १ मा चार मन्त्री र एक राज्यमन्त्री नियुक्त

यसअघि पनि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आङ्बोले आर्थिक मामिला मन्त्रालय २ वर्ष १० महिना सम्हालेका थिए । प्रदेशसभामा निर्वाचित भएर आएपछि २०७४ फाल्गुन ३ गते आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका आङ्बोलाई तत्कालीन मुख्यमन्त्री राईले सरकारमा बसेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै मन्त्रीबाट २०७७ पुस ११ गते बर्खास्त गरेका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला मन्त्रालयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्रीमा जनता समाजवादी पार्टीका नेता जयराम यादव नियुक्त भएका छन् ।

सामाजिक विकास राज्यमन्त्रीमा विष्णुमाया तुम्बाहाम्फे नियुक्त भएकी छन् ।


नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । राईको अध्यक्षतामा ६ सदस्सीय मन्त्रिपरिषद् गठन गरिएको हो । मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने तयारी गरिएकोले अहिले केही बेरमा सपथ ग्रहण हुनेछ ।

प्रदेश १ का एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट राजिनामा दिने घोषणा गरेको पत्र बुझाएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दावी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिएका थिए ।

सरकार गठनका लागि आह्वान गरिएपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा नया“ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दाबी पेस गरेको पत्र बुझाएका थिए ।

प्रकाशित : कार्तिक १६, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?