कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

प्रक्रिया नबढाइदिँदा सुभाष मृतककै सूचीमा

श्रावण २६, २०७८
प्रक्रिया नबढाइदिँदा सुभाष मृतककै सूचीमा

Highlights

  • आफ्नै मृत्यु दर्ता खारेज गर्न ३ वर्षदेखि प्रशासनमा धाएको धाएै

विराटनगर — स्थानीय तहले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा ‘मृत्यु दर्ता’ खारेजी प्रक्रिया अघि नबढाइदिँदा मोरङको बेलबारीका सुभाष तामाङ सरकारी अभिलेखमा ‘मृतक’ नै रहेको पाइएको छ । भोजपुरको साविक कुदाकाउले ९ (हालको षडानन्द नगरपालिका–२) पुर्ख्यौली घर भएका तामाङको साउदी अरबमा हुँदा उतै मृत्यु भएको झूठो खबर आएको थियो ।

२०७२ साउन ६ गते तामाङको कुदाकाउले–९ मा मृत्यु दर्ता भएको थियो । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बसाइँ सरेका तामाङ तीन वर्षदेखि आफ्नो मृत्यु दर्ता खारेज गर्न प्रशासनमा धाउँदै आएका छन् ।‘मृत्यु दर्ता गर्ने निकायको लापरबाहीका कारण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अनलाइन सिस्टममा उनी मृतक नै छन्,’ विभागका निर्देशक युवराज कट्टेलले भने, ‘मृत्यु दर्ता गर्ने स्थानीय निकायले अहिलेसम्म उनी जीवितै भएको र मृत्यु दर्ता राष्ट्रिय अभिलेखबाट हटाउन विभागसमक्ष सिफारिस नगरेकाले यस्तो भएको हो ।

मोरङ प्रशासनबाट विभागको अभिलेखबाट मृत्यु दर्ता हटाउन माग भए पनि सम्बन्धित निकायले अभिलेखसहित दर्ता बदर गर्न माग नगरेसम्म हटाउन सक्ने प्रावधान नरहेको कट्टेलको भनाइ छ । ऐनको दफा २४ मा कुनै व्यक्तिको झूटो विवरण दाखिल गरी दर्ताको प्रमाणपत्र लिएको प्रमाणित भए स्थानीय अधिकारीले त्यस्तो दर्ताको प्रमाणपत्र रद्द गर्न सक्ने प्रावधान छ ।

प्रमुख जिल्ला अधिकारीले सम्बन्धित पालिकालाई र पालिकाले वडा कार्यालयमा सिफारिस पठाएर वडाले दर्ता खारेजीका लागि विभागमा पठाउनुपर्ने प्रावधान रहेको उनले बताए । प्रक्रिया पुग्नासाथ अभिलेखवाट सुभाषको मृत्यु दर्ता हट्ने कट्टेलको भनाइ छ । सुभाषको मृत्यु दर्ता गर्ने भोजपुरका तत्कालीन स्थानीय पञ्जिकाधिकारी र जीवितै हुन् भनेर सिफारिस गर्ने बेलबारी–११ का वडा अध्यक्षको नाम एउटै भएकाले जालसाजी भएको हुन सक्ने आशंका बढेको उनले बताए ।

जो आफ्नै मृत्यु दर्ता खारेज गर्न अड्डा धाउँदै छन्

मृत्यु दर्ता गर्दा तत्कालीन भोजपुर कुदाकाउले ९ का पञ्जिकाधिकारी यामबहादुर पोखरेल थिए । सुभाष जीवितै हुन भन्ने सिफारिस गर्ने बेलबारी–११ का वडा अध्यक्ष पनि यमबहादुर पोखरेल नै छन् । दुवैको एउटै नाम र हस्ताक्षर पनि दुरुस्त देखिँदा मोरङका प्रमुख जिल्ला अधिकारीले पञ्जीकरण ऐनको दफा २४ अनुसार उनको मृत्यु दर्ता बदरको आदेश जारी गरे पनि ऐनको दफा ४१ र ४२ अन्तर्गत अनुसन्धान गर्न आग्रह गरिएको कट्टेलले बताए ।

हालको षडानन्द नगरपालिका २ ले तीन वर्षअघि सुभाष जीवितै भएको बेलवारी नगरपालिका ११ लाई पठाएको अभिलेख छ । बेलबारी ११ का वडा सचिव बाबुराम ढुंगानाका अनुसार भोजपुरबाट सुभाष जीवितै भएको पत्र यहाँको वडा कार्यालयमा आएपछि वडाले सर्जमिन मुचुल्का उठाएर उनलाई जीवितै भएको प्रमाणपत्र दिएको हो । भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बस्नेतले सुभाषको मृत्यु दर्ता बदरका लागि वडा २ ले अहिलेसम्म विभागमा सिफारिस नपठाएको स्विकारे । मृत्यु दर्ता बदरको माग नगरपालिकाले गर्ने बताए ।

साउदी अरबमा रहँदा सुभाषसहित चार जना दुर्घटनामा परेका थिए । दुई जनाको घटनास्थलमा मृत्यु भएको थियो भने सिकिस्त दुई जनालाई अस्पताल पुर्‍याइएको थियो । भोलिपल्ट अस्पतालमा थप एक जनाको मृत्यु भयो । सुभाष काम गर्ने कम्पनीका प्रतिनिधिले उक्त शव सुभाषको हो भनेर किटान गरिदिएपछि घरमा खबर आएको थियो ।

केही समयपछि शव बुझेर परिवारले अन्तिम संस्कार गरेका थिए । पछि अस्पतालमा उपचारकै क्रममा रहेका व्यक्ति सुभाष हुन् भन्ने खुलेको थियो । उनी निको भई घर फर्केका थिए । तामाङ परिवारले अन्तिम संस्कार गरेको शव भने बागलुङ ढोरपाटन ६ का तेजेन्द्र भण्डारी भएको पछि खुलेको थियो । भण्डारीकी आमा सावित्रा आएर अन्त्येष्टि गरिएको स्थानको एक मुठी माटो बोकेर लगेकी थिइन् ।

प्रकाशित : श्रावण २६, २०७८ १०:२७
×