कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुठीको जग्गा हडपेर बनाइएका घर टहरा भत्काइयो

डम्बरसिं राई

खोटाङ — बराहापोखरी गाउँपालिका–१ स्थित शंखेश्वरी महादेव गुठीको जग्गा हडपेर बनाइएका घर टहरा भत्काइएको छ । 

गुठीको जग्गा हडपेर बनाइएका घर टहरा भत्काइयो

गाउँपालिकाले पटक–पटक हट्न अनुरोध गर्दा अटेर गरेकाले डोजर लगाएर भत्काइएको हो । ‘शंखेश्वरी महादेव गुठीको जग्गा हडपेर घर टहरा बनाउँने २७ घरपरिवारमध्ये शनिबार पाँच वटा घरटहरा भत्काइएको छ,’ गोमा मगरले भनिन्–‘अरु भने पहिले नै सरिसक्नु भएको थियो ।’

मगरका अनुसार २०७५ असोज ८ गते, चैत ४ गते र २०७६ साल मंसिर ३० गते सार्वजनिक सूचना प्रकाशन गरी घर–टहरा हटाउन अनुरोध गर्दा समेत अटेर गरेपछि २०७७ मंसिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकले पालिका आफैंले हटाउने निर्णय गर्दै अन्तिम चोटीका लागि १० दिनको समयसीमा तोकेर घर–टहरा हटाउन अनुरोध गरेको थियो । जारी सूचनालाई पनि बेवास्ता गरेकाले घर–टहरा भत्काइएको उपाध्यक्ष मगरले सुनाइन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (क) को देहाय २ (ट) मा अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण, रोकथाम तथा नियन्त्रण गर्ने अधिकार उपयोग गर्दै जग्गा खाली गरिएको मगरले सुनाइन् ।

शङ्खेश्वरी महादेवको नाममा भएको थुप्रै जग्गाहरु अझै स्थानीयले कब्जा जमाएका छन् । शङ्खेश्वरी महादेव गुठीको नाममा भएको बराहाटार, चालीसे, सावाटारी, बाह्रमुरेलगायत ठाउँको जग्गा स्थानीयले कब्जा जमाएका हुन् । २०४७ सालमा जिल्ला मालपोत कार्यालय खोटाङले स्थानीयले गैरकानुनी रुपमा हडपेको करिब ५५ रोपनी जग्गा फिर्ता गर्ने फैसला गरी आदेश दिए पनि अझै फिर्ता भएको छैन ।

प्रकाशित : असार २७, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?