२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

विराटनगरमा फेरि बढ्न थाल्यो संक्रमण

विराटनगर — लकडाउन खुकुलो भएको साता नबित्दै कोरोना संक्रमितको संख्या बढेको छ । संक्रमित भएर अस्पताल भर्ना हुनेमा नवजात शिशु र किशोरकिशोरी समेत छन् ।

विराटनगरमा फेरि बढ्न थाल्यो संक्रमण

गत सातासम्म नोबेल अस्पतालमा ६५ जना संक्रमित भर्ना थिए । चार दिनयता बढेर ९५ पुगेको छ । अस्पताल निर्देशक नारायण दाहालका अनुसार तीमध्ये २५ दिनको शिशुसहित चौध वर्ष मुनिका ५ जना बालबालिका छन् ।

चार दिनयता नवजात शिशु र बालबालिका संक्रमित भएर अस्पताल भर्ना हुन थालेको दाहालले बताए । लकडाउन खुकुलो भएसँगै स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्दा संक्रमित पुनः बढ्ने चिकित्सक मुक्ति आचार्यले बताए । नोबेलमा हालसम्म एक हजार ४६ जना संक्रमित भर्ना भएका छन् । १ सय ९१ जनाले ज्यान गुमाएका छन् । ८ सय १४ जना निको भएका छन् ।

विराट शिक्षण अस्पतालमा दुई दिनयता संक्रमित आउने क्रम बढेको छ । शुक्रबारसम्म २३ जना संक्रमित उपचारर्थ थिए । अस्पतालका तथ्याङ्क प्रमुख निरज श्रेष्ठका अनुसार शनिबार एकै दिन नौजना संक्रमित भर्ना भए । उनका अनुसार एक बालकसमेत छन् । बिहीबार एक १५ दिनको शिशु उपचारपछि घर पठाइएको थियो । श्रेष्ठले पछिल्ला दिन नवजात शिशु र बालबालिका संक्रमित भएर भर्ना हुने क्रम बढेको छ । विराटमा हालसम्म ७ सय ९५ जना संक्रमित भर्ना भएका छन् । ८४ जनाले ज्यान गुमाए भने ६ सय ७९ जना निको भएर घर फर्केका छन् ।

शुक्रबार ५९ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको थियो । केही दिनअघिसम्म प्रतिसयमा २० जनामा संक्रमण देखिने गरेको विराटनगर महानगरपालिका कोभिड शाखा प्रमुख हैदर अलीले बताए । उनका अनुसार महानगरमा २ हजार २ सय ९५ जना सक्रिय संक्रमित छन् । २ हजार एक सयजना होम आइसोलेसनमा छन् । महानगरमा कोरोनाको दोस्रो लहरका कारण आइतबारसम्म १ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : असार १७, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×