१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जेठ लाग्दा पनि छोडेन हिउँले

आनन्द गौतम

ताप्लेजुङ — हिमाली जिल्लामा असोज महिना सुरु भएपछि चीसो सुरु हुन्छ । असोज अन्तिमदेखि त उच्च लेकाली क्षेत्रमा हिउँ नै पर्न थाल्छ । कात्तिक, मंसिरदेखि हिमाली बस्तिका बासिन्दा हिउँ छल्न र चीसोबाट बच्न औलतिर झर्छन् । माघ मसान्तसम्म यो क्रम जारी रहन्छ । फागुनदेखि तातो पलाउन सुरु हुन्छ । फागुन मसान्त हुँदा नहुँदै हिमाली क्षेत्रको जनजिवन सामान्य बन्न थाल्छ । विदेशी पर्यटक आउन थाल्छन् । स्थानीय काममा फर्कन थाल्छन् । 

जेठ लाग्दा पनि छोडेन हिउँले

तर, यो वर्ष जेठ सम्म पनि हिउँले छोडेको छैन । हिमाली क्षेत्रका बासिन्दालाई हिउँका कारण बाहिर हिँडडुल गर्न कठिन छ । कोरोना संक्रमण जोखिम रोकथामका लागि मुलुक लकडाउनमा छ । मानिसहरुलाई हिँडडुल नगर्न सरकारले अपिल गरेको छ । तर जरुरी काम परे आउजाउमा समस्या छ । फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार चीनले ओलाङचुङगोला र याङमाका नागरिकलाई दिएको खाद्यान्न ल्याउन सकिएको छैन ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे, वडासदस्य टासी शेर्पा भोटे, स्थानीय तेञ्जिङ शेर्पा लगायतको टोलीले नेपाल चीनको सिमाना टिप्ताला भञ्ज्याङमा पुगेर स्वास्थ्य तथा खाद्य सामग्री बुझेका थिए । हिउँका कारण ज्यानै हिँडाउन कठिन भएकाले सिमानामै राखेर फर्किएको वडाध्यक्ष भोटे बताउँछन् ।

चीनले आफूहरुले दिएको सामग्री सिमानामै राखेको भन्दै असन्तुष्टि जनाएको छ । प्रवक्ता छेतेन डोजर लगाएरै पन्छाए मात्रै अन्यथा हिउँ बिलेर बाटो खुल्न यो महिनाभरी पर्खनुपर्ने बताउँछन् । ‘घामले भेटेको ठाउँमा बिलाउँदै गएको छ,’ राहत सामग्री बुझ्न गएका तेञ्जिङले थपे, ‘ओसिलो र घाम नलाग्ने पाटोमा त कम्मरसम्मै हिउँ जमेको छ ।’ मान्छे हिँड्ने नभएकाले त्यो आफै बिलाउन समय लाग्ने उनले बताए ।

ओलाङचुङगोलाका बासिन्दालाई चीनले पठायो राहत

चीनको पिपुल रिपब्लिक अफ चाइनाले ताप्लेजुङ जिल्लाका लागि १२ सय थान आरडीटी किट, ११ सय थान पीपीई, एक सय थान थर्मल गन, १२ सय थान एन–९५ मास्क र एक लाख १० हजार थान सर्जिकल मास्कसहितको सामग्री दिने प्रस्ताव गरेको छ । त्यो सामान बुझ्नका लागि जेठ ८ गते (मे २१) का दिन द्विदेशीय सिमानामा बोलाइएको छ । सामान बुझ्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली जाने तयारी गरेको छ । तर, गत सोमबार त्यहाँ पुगेर मंगलबार सामान बुझेर फर्किएका तेञ्जिङ सिमानासम्म पुग्न निकै नै कठिन रहेको बताउँछन् । भरियाले बोकेर सामान ल्याउन त झनै समस्या छ ।

स्काभेटर लगाएर नेपालतर्फको पनि हिउँ पन्छाइदिन अनुरोध गरेको प्रवक्ता छेतेनले बताए । ‘मैले त्यहाँ (तिब्बत) का डिएसपीसँग अनुरोध गरेँ,’ छेतेनले थपे, ‘मैले माथिल्लो निकायमा भनेर अनुमति पाएमात्रै गर्नसक्छु भन्नुभएको छ, आशा छ केही न केही सहयोग गर्नुहोला ।’ तमोर नदीको उद्धगमस्थल टिप्ताला भञ्ज्याङ क्षेत्रमा अरु समयमा पनि ठूलो मात्रामा हिउँ पर्ने गरेको छ । हिउँ जमेको ठाउँमा हिँड्न अक्सिजनको समस्या, आँखामा हुने समस्याका कारण पनि कठिन हुने हिमाली क्षेत्रका बासिन्दा बताउँछन् ।

यो वर्ष पाथीभरा क्षेत्रमा पनि अहिलेसम्म हिउँ रहेको छ । पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा छ ।

प्रकाशित : जेष्ठ ४, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?