सुत्केरीलाई घरघरमा पोषिलो खाद्यसामग्री

लकडाउनको समयमा पोषिलो खानेकुरा जुटाउन मुस्किल भएको जनाउँदै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ४६ जना सुत्केरीलाई खाद्यसामग्री उपलब्ध गराएको छ ।

वैशाख २९, २०७७

डम्बरसिं राई

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सुत्केरीलाई पोषणयुक्त खाद्यसामग्री वितरण गरेको छ । लकडाउनको अवधिमा पोषिलो खाद्यसामग्री जुटाउन मुस्किल भएको जनाउँदै सोमबार वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार खाद्यसामग्रीमा चना, केराउ, भटमास, गहुँ, अण्डालगायत छन् । लकडाउनको अवधिमा जन्मिएका नवजात शिशु र जन्म दिने आमालाई पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावना भएकाले वितरण गरिएको अध्यक्ष राईले बताए । 

लकडाउनको अवधिमा चैत र वैशाख महिनाभर उक्त पालिकामा ४६ जना महिला सुत्केरी भएका छन् । ‘लकडाउनले पोषिलो खानेकुरा जुटाउन सक्ने अवस्था छैन,’ अध्यक्ष राईले भने, ‘सबै सुत्केरी आमालाई गाउँलिकाभित्रै उपलब्ध पोषणयुक्त खानेकुरा खरिद गरेर वितरण गरिएको हो ।’ 

अध्यक्ष राईका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ८ जना, २ नम्बरको डाडाँगाउँका ६ जना, ३ नं छोरम्बुका १० जना,  ४ नं बतासेका ६ जना, ५ नं सप्तेश्वरछितापोखरीका ६ जना, ६ नं छितापोखरीका ४ जना र ७ नं टेम्माका ६ जना सुत्केरी महिलालाई खाद्य सामग्री वितरण गरिएको हो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully