उर्लाबारी–मधुमल्ला सडक : ‘ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गरियोस्’

कान्तिपुर संवाददाता

(विराटनगर) — मोरङको उर्लाबारी–मधुमल्ला–रवि सडकमा चरम लापर्बाही भएको भन्दै प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको वैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘०७४ असारमा ठेकेदारले कालोपत्र गरेको सडक दसैंसम्म पनि टिकेन, ठेकेदारलाई कारबाही गर्नुपर्छ । ’ छोटो समयमै कालोपत्रे उक्किएर खाल्डैखाल्डा भएको उल्लेख गर्दै उनले काम अलपत्र पार्ने ठेकेदार उन्मुक्तिका साथ हिंडेको समेत बताए । निर्माणका काममा ठेकेदारहरूले गर्ने बहानाबाजी र लापर्बाही रोक्न उनले सम्बन्धित मन्त्रालयहरूको ध्यानाकर्षण समेत गराएको बताए । चार वर्षअघि कालोपत्रका लागि ठेक्का लागेको उर्लाबारी–मधुमल्ला हुँदै रवि जाने, पाँचथर र इलामसमेत जोड्ने यो सडक कालोपत्रेका लागि मधुमल्लासम्मको ठेक्का लागेको थियो । खतिवडाले भने, ‘बाटामा अहिले खाल्डैखाल्डा छन् ।’ सडकको बिजोग अवस्था हुँदा पनि गम्भीरता नअपनाइएको उनको गुनासो थियो ।


‘काम बिगारेर ठेकेदार उन्मुक्तिका साथ हिंडेका छन्, योजनाको फरफराक पनि छैन,’ उनले भने, ‘पाउनुपर्ने भन्दा बढी रकम भुक्तानी भइसकेको छ ।’ यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा पनि दर्ता भएको उनले जानकारी गराए । ‘सम्माननीय सभामुखमार्फत् अख्तियारलाई यहीँबाट उजुर गर्न चाहन्छु,’ उनले संसद्मा भने, ‘उर्लाबारी–मधुमल्ला सडक ठेक्का लिने ठेकेदारलाई अविलम्ब कारबाहीको घेरामा तानियोस् र कालोसूचीमा राखेर त्यो बाटो फेरि बनाउनका लागि वातावरण सिर्जना गरियोस् ।’


सडक खाल्डैखाल्डा भएकाले दिनहुँ दुर्घटना भइरहेको उनले संसद्मा जानकारी गराएका थिए । सांसद खतिवडाले केराबारी गाउँपालिलगायत उत्तरी मोरङका गाउँमा विस्फोट र चन्दा आतंक फैलाइएको भन्दै भरपर्दो सुरक्षा व्यवस्था गर्न सरकारसित माग गरे । ‘स्थानीय तहका कार्यालय भवनमा बम विस्फोट गराएर, चन्दा नदिएको नाममा वडा अध्यक्ष, सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरूलाई तर्साउने कोसिस गरिएको छ,’ उनले भने, ‘केका लागि आगजनी र विस्फोट गराउने तत्त्व सक्रिय छ, सरकारको यसतर्फ गम्भीर ध्यान जानु जरुरी छ ।’


रमितेको मिक्लाजुङ डाँडा, केराबारीको जेफाले, धजे डाँडालगायत पर्यटक जाने क्षेत्रमा बम विस्फोट गराएर तर्साउने र निर्माण भइरहेका योजनालाई प्रभाव पार्ने काम भएको भन्दै उनले ध्यानाकर्षण गराए । त्यस क्षेत्रमा सुरक्षा व्यवस्थामा ध्यान दिन आग्रह गर्दै खतिवडाले मिक्लाजुङ, लेटाङ, केराबारीमा गस्ती गर्न जानका लागि स्थानीय प्रहरी चौकीमा उपयुक्त साधन नभएकाले त्यसको व्यवस्था गर्न पनि माग गरे ।


मिक्लाजुङको वडा १ रमितेमा, केराबारीको वडा २ सिंहदेवीको बिहीबारे बजारमा र लेटाङ नगरपालिकाको वडा ७ बारङ्गीमा जनपद वा सशस्त्र प्रहरीका पोस्ट व्यवस्थित गरेर सुरक्षाको प्रत्याभूति गर्नका लागि उनले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

एसीसी इस्टर्न ट्‍वान्टी-२० छनोटका लागि नेपाली टवली घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले थाइल्यान्डमा हुने एसीसी इस्टर्न ट्‍वान्टी–२० छनोटका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । एसीसी इस्टर्न ट्‍वान्टी–२० छनोट फेब्रुअरी २९ बाट सुरु हुँदै छ । 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का सन्दीप लामिछाने, विनोद भण्डारी, आरिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल, सुसन भारी, पवन सर्राफ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन् । बुधबार सम्पन्न क्रिकेट विश्वकप लिग २ खेलेको टोलीबाट सुवास खकुरेल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी र ललितनारायण राजवंशीको स्थानमा पवन, सन्दीप जोरा, किशोर र भुवनलाई राखिएको छ । टोली प्रशिक्षकमा जगत टमाटा, भिडियो एनालिस्टमा रमन सिवाकोटी, फिजियोमा विक्रम न्यौपाने र व्यवस्थापकमा माधवकुमार कर्माचार्य छन् । उमेश पटुवालले राजीनामा दिएपछि टमाटालाई पुनः नेपालको प्रशिक्षकमा ल्याइएको हो ।

अगस्टमा मलेसियामा एसिया कपको छनोटका रूपमा रहेको प्रतियोगितामा नेपालले आफ्नो समूहमा चीन, थाइल्यान्ड र मलेसियासँग प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । तर कोरोना भाइरस संक्रमणका कारण चीनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिइसकेको छ ।

पूर्वघोषित तालिकाअनुसारको अर्को समूहमा हङकङ, म्यानमार, सिंगापुर र भुटान छन् । फाइनलमा पुग्ने दुई टोलीले एसिया कप छनोटमा चार राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछन् । वेस्टर्न रिजनको फाइनलमा पुग्ने अर्को दुई टोलीले पनि एसिया कप छनोटमा खेल्नेछ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×