कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

वैज्ञानिक वन व्यवस्थापन : पुराना झिक्दै, नयाँ रोप्दै

चारकोसे जंगलको १२ हजार हेक्टर क्षेत्रफलमा सखुवासहित विभिन्न जातका ५ हजार पुराना रुख काटिएको छ र ती क्षेत्रमा २० हजार बिरूवा लगाइएको छ 
विनोद भण्डारी

(विराटनगर) — पातलिँदै गएको मोरङको चारकोसे जंगलमा नयाँ बिरुवा हुर्कन थालेका छन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअनुसार जंगलमा रहेका सबैभन्दा पुराना /धोध्रा रूख काट्ने र ती स्थानमा नयाँ बिरुवा रोप्ने गरिएको छ । 

वैज्ञानिक वन व्यवस्थापन : पुराना झिक्दै, नयाँ रोप्दै

संघीय र प्रदेश सरकारले दिगो व्यवस्थापनमार्फत वन क्षेत्रको उत्पादकत्व र उत्पादनमा वृद्धि गर्ने उद्देश्यले ०७० मा लागू गरेको वैज्ञानिक वन व्यवस्थापन नीतिअनुसार पुराना काट्ने र नयाँ लगाउने गरिएको हो । अहिले चारवटा साझेदारी वन र २५ वटा सामुदायिक वन उपभोक्ता समितिले चारकोसे जंगलको १२ हजार १९२ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा सक्रिय रहेको डिभिजन वन मोरङका प्रमुख विशाल घिमिरले बताए ।


उनका अनुसार उक्त क्षेत्रफलमा सखुवासहित विभिन्न जातका ५ हजार २२ वटा पुराना धोध्रा रूख काटिएको र ती रुखले ओगटेको क्षेत्रफलमा २० हजारभन्दा बढी नयाँ बिरुवा हुर्काइएको छ । कागजी रूपमा ५५ हजार ५ सय हेक्टर जमिनमा रहेको चारकोसे जंगल अतिक्रमणमा परी ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको तथ्यांक छ । भू–सूचना प्रणाली (जीआईएस) ले दुई वर्षअघि सार्वजनिक गरेको नापी सर्भे प्रतिवेदनमा चारकोसेको उक्त क्षेत्रफल उल्लेख छ ।


सरकारले जंगल संरक्षण गर्न ०५५ देखि चारकोसे जंगल सामुदायिक र साझेदारी समूहलाई हस्तान्तरण सुरु गरेको हो । अहिलेसम्म १ सय ३४ वटा सामुदायिक र चारवटा साझेदारी समूहलाई २७ हजार ७ सय ९० हेक्टर चारकोसे जंगल हस्तान्तरण गरिसकेको छ । यीबाहेक विभिन्न १२ वटा धार्मिक समूहले ४४ हेक्टर र कबुलियत वनका नाममा ७८ हेक्टर वन क्षेत्र उपभोग हुँदै आएको छ ।


चुरेको फेददेखि माथिल्लो भागमा रहेको १६ हजार ६ सय ७८ हेक्टर क्षेत्रफल मात्र अब पूर्वी तराईमा राष्ट्रिय वनका रूपमा संरक्षित छ । १६ सय ४६ हेक्टरमा रहेको बेलबारी चिसाङ साझेदारी वन समूहले ४४ हेक्टरका पुराना र धोध्रा रूख निकालेर त्यहाँ सखुवा, सतिसाल, जामुनलगायतका जातका नयाँ बिरुवा हुर्काएको छ ।उक्त वनका अध्यक्ष दिनेश गिरीका अनुसार समूहले चालु वर्ष थप २२ हेक्टर क्षेत्रफलका धोध्रा रूख निकालेर नयाँ बिरुवा रोप्ने र बीउ छर्ने तयारी छ । ‘पुराना र धोध्रा रूख भएको स्थान र वरपर एउटा पनि बिरुवा थिएनन्’ गिरीले भने, ‘ती रूख निकालेर नयाँ बिरुवा हुर्काएपछि जंगल फेरि हरियाली हुन थालेको छ ।’ वन क्षेत्र तारले घेराबारा गरेर बिरुवाको संरक्षण गरिएको छ ।


साझेदारी वनले जंगलबाट निकालेको काठ आधा सरकारलाई बुझाउने र आधा जंगलको पहुँचभन्दा बाहिरका उपभोक्तालाई सरकारी दरमा बिक्री गर्ने प्रावधान छ । यो वनले गत वर्ष जंगलको पहुँचभन्दा बाहिरका २ हजार ४ सय उपभोक्तालाई सरकारी दरमा काठ र दाउरा वितरण गरेको गिरीले बताए ।


मोरङमा साझेदारीतर्फ बेलबारी चिसाङ, पथरी शनिश्चरे, लोहन्द्रा केराबारी र लाटीझोडाले गरी ७ हजार २ सय ६२ हेक्टर र विभिन्न २५ वटा सामुदायिक वनले ४ हजार ९ सय ३० हेक्टरमा क्षेत्रफलमा कार्यक्रम लागू गरेर त्यस क्षेत्रमा नयाँ बिरुवा हुर्काएपछि चारकोसे जंगल पुनः बाक्लो हुँदै गएको डिभिजन वन प्रमुख घिमिरेले बताए । उनका अनुसार यही क्रममा नयाँ बिरुवा हुर्काउने हो भने दशकपछि चारकोसे जंगल घना हुनेछ । सरकारले यो कार्यक्रम २०६१ सालमा पर्साबाट सुरु गरेर मोरङको चारकोसे जंगलमा २०७० सालमा लागू गरेको हो ।


प्रमुख घिमिरेका अनुसार वैज्ञानिक वन व्यवस्थापन गर्दा प्रतिहेक्टरमा बढीमा १५ देखि २५ वटा स्वस्थ्य माउ रूख राखेर अरू धोध्रा काटिन्छ । त्यसरी रूख काटिएपछि वन क्षेत्रलाई आठ खण्डमा विभाजन गरिन्छ । विभाजन गरिएका हरेक खण्डमा १०–१० वर्ष उमेर फरकका १० देखि ८० वर्षसम्मका नयाँ रूख हुर्काइन्छ । यसका लागि सरकारले मोरङमा मात्रै हरेक वर्ष सरदर एक करोड रुपैयाँ लगानी गर्दै आएको घिमिरेले बताए ।


वैज्ञानिक वन व्यवस्थापन प्रणालीका कारण जंगलमा कुहिने अवस्थामा रहेका वर्षौं पुराना रूख निकाल्दा राज्यलाई राम्रो राजस्व संकलन हुने र जंगलको पहुँचभन्दा बाहिरका उपभोक्तासमेत लाभान्वित हुँदै आएको सब–डिभिजन वन कार्यालय बेलबारीका फरेस्टरसाहिल चौधरीले बताए । गत वर्ष वैज्ञानिक वन कार्यक्रम सुरु भएका सामुदायिकबाट १ लाख ५४ हजार ७ सय ४५ क्युबिक फिट, वैज्ञानिक लागू नभएका ६३ वटाबाट ८२ हजार १ सय ६५ क्युबिक फिट, विभिन्न ८७ वटा समूहबाट २ लाख ३६ हजार ९ सय १० क्युबिक फिट बिक्री गरिएको थियो ।


यसैगरी, साझेदारी वनबाट १ लाख ६९ हजार ३ सय ६५ क्युबिक फिट काठ निकाल्दा राज्यलाई ११ करोड २२ लाख राजस्व संकलन हुनुका साथै जंगलमा नयाँ बिरुवासमेत हुर्केको र जंगलको पहुँचबाहिर रहेका जिल्लाका २ हजार ३ सय ६१ उपभोक्तालाई १ लाख ८० हजार ३ सय ५० क्युबिक फिट काठ आपूर्ति समितिले बिक्री गरेको घिमिरेले बताए ।


वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम मोरङसहित प्रदेश १ का झापा, सुनसरी, उदयपुर र धनकुटामा लागू छ । यसबाहेक बारा, पर्सा, महोत्तरी, रौतहट, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कास्की, स्याङ्जा, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बझाङलगायतका जिल्लामा लागू छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?