कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वृद्धवृद्धाका सहयोगी प्रौढ

खोटाङ — सामान्यतः सेवानिवृत्त जीवन अधिकांशका फुर्सदिलो हुने गर्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६३ वर्षीय चन्द्रप्रसाद आचार्यको दैनिकी अझै व्यस्ततामा बितको छ । उनको सक्रियता आय आर्जनका लागि धेरै श्रम पर्ने काममा नभई ८० वर्षमाथिका वृद्धवृद्धालाई लाठी उपहार दिनका लागि हो । घँघरु ल्याउन लगाएर आफैं लाठी बनाउँछन् । 

वृद्धवृद्धाका सहयोगी प्रौढ

२०७४ जेठ १९ मा सरकारी नायब सुब्बाबाट अवकाश प्राप्त उनले एक वर्षभित्र एक हजार आठ जना ज्येष्ठ नागरिक तथा असक्तलाई लाठी उपहार दिने लक्ष्य राखेका छन् । यही लक्ष्यका साथ वैशाख १ बाट अभियान सुरु गरेको उनले सुनाए । हरेक वृद्धवृद्धाका लागि एउटा लठ्ठी परिवारका सदस्यजस्तै सहारा हुने भएकाले ‘एक वृद्धवृद्धा एक लाठी’ उपलब्ध गराउने अभियान थालेका हुन् । ‘बूढाबूढी र अशक्तका लागि परिवारका सदस्यजस्तै पहिलो र नजिकको साथी लाठी हो,’ उनले भने ‘उनीहरू चौबीसै घण्टा आफ्नो छोराछोरीको साथमा हुँदैनन्, त्यो अवस्थामा बुढेसकालको सहारा लाठी भएकाले अभियान थालेको हुँ ।’


लाठी उपहार दिने अभियान सुरु गरेदेखि अहिलेसम्म पाँच सय ५० जना ज्येष्ठ नागरिकलाई दिइसकेका छन् । ‘सुरुमा एक सय आठ जना वृद्धवृद्धालाई एक–एकवटा लाठी दिनेगरी अभियान थालेको थिएँ,’ उनले भने, ‘बीचमा धेरै वृद्धवृद्धा बाँकी रहने थाहा पाएपछि एक हजार आठ जनालाई दिने विचार गरेको छु ।’


धार्मिक ग्रन्थमा एक सय आठ र एक हजार आठ दान गर्नुको विशेष अर्थ र महत्व भएकाले त्यति पुर्‍याउने उनको लक्ष्य छ । अहिलेसम्म उनले आफ्नै जिल्लाको दिक्तेल, लफ्याङ, खाल्ले, दोर्पा चिउरीडाँडा, नुनथला, बाक्सिला र रतन्छासँगै तराइमा बसोबास गरिहेका वृद्धवृद्धालाई लाठी उपहार दिएका छन् । छिमेक तथा नजिक पर्ने गाउँघरका वृद्धवद्धालाई आफैं गएर लाठी दिने गरेका छन् । टाढाका वृद्धवृद्धालाई भने उनीहरूको आफन्तमार्फत उपहार पठाइदिने गरेका छन् । उनले साकेला गाउँपालिका–२ रतन्छाका एक सय आठ वर्षीय नन्दलाल फुयाँललाई लाठी पुर्‍याउँदा आफूलाई खुसी लागेको बताए । खबर आए र पुर्‍याई दिने माध्यम भए सय वर्षर् नाघेका नेपालका पूर्वपश्चिम जुनसुकै ठाउँका बृद्धबृद्धालाई लठ्ठी उपहार पठाइदिने लक्ष्य राखेको उनले बताए ।


लाठी बनाउन उनी घँघरुको काँचो लाथ्रो किन्छन् । १४–१५ वटा लाथ्रो ल्याइदिनेलाई १२ सय रुपैयाँ दिने गरेका छन् । एउटा लाठी तयार पार्न एकदेखि पाँच दिनसम्म लाग्ने गरेको उनले बताए । आफैंले तयार पारेका उनका लाठीमा चरा, माछा र फूलको कोपिला लगायतको कलात्मक आकृति देखिन्छ । उनको यो ऊर्जाशील दिनचर्यालाई देख्दा दौंतरी पनि खुसी छन् ।

प्रकाशित : मंसिर ७, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?