वर्षौंदेखि एकै किसिमका माग दोहोर्‍याइरहेका रामेछापका मतदातामा 'असन्तोष' बढ्दो

आफ्ना एकै किसिमका माग वर्षौंदेखि नसुन्ने नेतृत्वप्रति स्थानीयको ठूलो आक्रोश ।

फाल्गुन १०, २०८२

नवराज श्रेष्ठ

Growing 'discontent' among Ramechhap voters who have been repeating the same demands for years

What you should know

रामेछाप — मन्थली नगरपालिका–७ भटौलीका ७३ वर्षका शङ्ख माझी र ६९ वर्षीया विभा माझीको दैनिकी आज पनि उही छ । खेती किसानी, खोला, बर्खाको चिन्ता र अधुरा आशा बोकेरै उनीहरू दिन काटिरहेका छन् ।

फागुन २१ नजिकिँदै गर्दा रामेछापका ग्रामीण बस्तीमा चुनावी आवाज भन्दा मौन असन्तोष र निराशा नै बढी सुनिन्छ।फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा पनि यो निर्वाचनले उनीहरूको जीवनलाई खासै छोएको छैन। अब निर्वाचन आउन १२ दिन मात्रै बाँकी छ । तर भोट हाल्ने दिन आइसक्दा पनि माझी दम्पतीमा निर्वाचनको खासै मतलब देखिँदैन । 

भटौलीकै ७५ वर्षीया धनमाया खड्का पनि उस्तै निराश देखिन्छिन्। 'यसभन्दा अगाडि के भयो, पछाडि के हुन्छ र हामीलाई उस्तै छ,' उनी भन्छिन्, 'अरू ठाउँमा विकास देखिन्छ, हाम्रो गाउँमा केही देखिँदैन।'

खानेपानीको समस्या अझै उस्तै छ। तामाकोशी नजिकै बगे पनि पानी पिउन गाग्री बोकेर हिँड्नुपर्छ। 'ट्याङ्की बनाउँछौँ, पानी तान्छौँ भन्ने मात्रै,' उनको गुनासो छ। उनका अनुसार गाउँमा तामाकोशीको पानी लिफ्टमार्फत तानेर गाउँमा धारा लैजाने भन्दै काम सुरु भएको धेरै समय भइसक्यो । तर योजना अझै पूरा हुन सकेको छैन ।Growing 'discontent' among Ramechhap voters who have been repeating the same demands for yearsस्थानीयहरूका अनुसार खानेपानी, सडक, शिक्षाजस्ता आधारभूत पूर्वाधार वर्षौंदेखिका उही एजेन्डा हुन्। तर बारम्बार दोहोरिने वाचा पूरा नहुँदा निराशा गहिरिँदै गएको मन्थली नगरपालिका–९ पुरानागाउँका राज श्रेष्ठ बताउँछन्। उनले भने, 'पटक-पटक भएका निर्वाचनमा जनतालाई धेरै सपना बाँडेकै हो । तर खासै परिवर्तन भएन । खानेपानी, सडक समस्या उस्तै जस्तै छन् । अन्य विषय त परका कुरा ।'

यस पटक रामेछापमा १७ जना उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारमध्ये ३ जना स्वतन्त्र छन् । जिल्लामा १ लाख ८७ हजार ९ सय ५२ मतदाता छन्। निर्वाचनका लागि ९६ मतदान स्थल र २ सय २८ मतदान केन्द्र तोकिएका छन्। निर्वाचन सफल बनाउन सबै निकाय सक्रिय छन्, जिल्ला निर्वाचन कार्यालयले पनि सुरक्षित रूपमा मतदान सम्पन्न गराउने तयारी गरिरहेको छ।

तर तथ्यांकभन्दा बाहिर एउटा यथार्थ छ । गाउँ–टोलमा चुनावी चहलपहल कम छ, मतदाताको उत्साह सुस्त छ। बर्खाले बगाउने डर, पिउने पानीको जोहो, रोजगारीको समस्या र अधुरा वाचा यी प्रश्नले मतदाताको मन भारी बनाइरहेका छन्। फागुन २१ नजिकिँदै गर्दा रामेछापका ग्रामीण बस्तीमा चुनावी आवाज भन्दा मौन असन्तोष र निराशा नै बढी सुनिन्छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully