पुराना दल, नेता र तिनका सोचबाट देश बन्दैन : साम्पाङ

धरान उपमहानगरपालिका प्रमुखसमेत रहेका राईले स्वदेशमै रोगजारी, श्रमको संस्कार र सुशासन स्थापित गर्न आफ्नो नेतृत्वको श्रम संस्कृति पार्टीसक्षम रहेको दाबी गरे ।

मंसिर २५, २०८२

विनोद घिमिरे

A country cannot be built by old parties, leaders and their thinking: Sampang

धनकुटा — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले पुराना दल र नेताबाट मुलुकको समृद्धि र सुशासन अघि बढ्न नसक्ने बताएका छन् ।

पार्टीको सभाका लागि धनकुटा पुगेका राईले पुरातनवादी सोचका पार्टी र तिनका नेताको अदूरदर्शिताकै कारण मुलुकले पटकपटक दुर्घटना भोग्नु परेको बताए । 

धरान उपमहानगरपालिका प्रमुखसमेत रहेका राईले स्वदेशमै रोगजारी, श्रमको संस्कार र सुशासन स्थापित गर्न आफ्नो नेतृत्वको श्रम संस्कृति पार्टीसक्षम रहेको दाबी गरे । सिंहदरबार र सर्वोच्च अदालत जोगाउन नसक्नेहरुबाट मुलुक बन्छ भनेर अपेक्षा गर्नु नै मूर्खता हुने राईको भनाइ थियो । 

विदेशमा रहेका नेपालीलाई फर्काएर स्वदेशमै रोजगारी दिने योजना आफूसँग रहेको दाबी पनि उनले गरे । पुराना दलका नेताको गल्ती, कमजोरी र भ्रष्टाचारकै कारण देशमा भएका संभावनालाई लत्याएर युवाहरु विदेशिनु पर्ने दुर्भाग्य रहेको उनको भनाइ थियो । 

पुराना नेताको गल्तीका कारण जात, धर्म, वर्गका नाममा नेपालीहरु विभाजित र च्यातिएको मनोभावना सिलाउन आफू सियो भएर अघि लागेको उनले जनाए । 

आउने संसदीय निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने र तबमात्रै मुलुक सुशासन र समृद्धिको बाटोमा अघि बढ्ने साम्पाङले दाबी गरे ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully