काठमाडौं — अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथ शुक्रबार राति ९ बजे हुने भएको छ ।
आन्दोलनरत जेन्जी पक्षका प्रधानमन्त्रीमा सिफारिस कार्कीको आजै शपथ हुने वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । दुई पक्षबीच आजै संसद् विघटन गर्ने र प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति बनेको हो ।
शपथ लगतै संसद विघटन गर्ने सहमति जुटेको शितल निवास स्रोतले बतायो । राष्ट्रपति पौडेलले सहमति जुट्नु अघि कांग्रेस, एमाले र माओवादीका नेताहरुसँग समेत सर्वपक्षीय सहमतिको पहल गरेका थिए । तर, राजनीतिक दलका नेताहरुले भने कार्कीको नेतृत्वमा सरकार निर्माणमा असहमति नरहे पनि संसद् विघटन गर्न नहुने अडान राखेका थिए । आन्दोलनरत पक्षको दबाबमा परेपछि पौडेलले अन्तिममा शपथ र प्रतिनिधिसभा विघटन करिब सँगसँगै हुनेगरी समझदारी जुटाएको स्रोतको भनाइ छ ।
