निजी क्षेत्रसँग गभर्नर पौडेलको छलफल, उद्योगी व्यवसायीलाई सघाउने प्रतिबद्धता

भाद्र २७, २०८२

काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार निजी क्षेत्रसँग छलफल गरेका छन् । प्रदर्शनको क्रममा ध्वस्त भएका आर्थिक गतिविधि कसरी सुचारु गर्ने भन्ने सम्बन्धमा राय सुझाव लिन गभर्नर पौडेलले नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स, बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

प्रदर्शनका क्रममा भएको क्षतिको पुनःसंरचना र पुनर्निर्माण गर्दै आर्थिक गतिविधिलाई कसरी सुचारु बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको सहभागीहरूले जनाएका छन् ।

‘गभर्नर पौडेलले क्षति भएका संरचना, उद्योग, व्यवसायको पुनःस्थापना तथा सञ्चालनका लागि राष्ट्र बैंकले के कस्तो नीतिगत सहजीकरण गर्न सकिन्छ भन्नेबारेमा राय सुझाव मागेका छन्,’ ती सहभागीले भने ।

प्रदर्शनको क्रममा भएको क्षतिबाट बैंक तथा वित्तीय संस्था र ऋणीलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा गभर्नर पौडेलसँग छलफल भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

‘आन्दोलनको क्रममा पुगेको क्षतिका कारण ऋण प्रभावित भएका र ऋण भुक्तानी गर्न नसक्ने उद्योगी व्यवसायी तथा ऋणीका लागि के कस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ भन्नेबारे गभर्नरले राय सुझाव मागेका छन्,’ उनले भने, ‘हामीले छलफल गरेर राय सुझाव दिने भनेका छौं ।’


Link copied successfully