काठमाडौं– मुख्यसचिव एकनारायण अर्यालले नयाँ सरकारको काम सिंहदबारबाटै हुने बताएका छन् । क्षतिग्रस्त सिंहदरबारको अवलोनपछि मुख्य सचिवले नारायणहिटीबाट सञ्चालन गर्ने भनि चलेको हल्लामात्र भएको बताए ।
‘सरकार सञ्चालनको विषयम आएको सबै हल्ला हो । सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुने छ,’ मुख्यसचिव अर्यालले भने । उनले त्यसका लागि आवश्यक व्यवस्था गर्ने काम सुरु गर्न निर्देशनसमेत दिइसकेको बताए ।
‘त्यो अनुसारको व्यवस्थापन हामी गर्छौं । अभिलेखको क्षति कल्पना समेत गर्न सकिँदैन । पूर्वाधार र सवारीको क्षतिबारे प्राविकि रुपमा आकलन गर्छौं,’ उनले भने । अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन् । अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अवाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत जानकारी गराए ।
राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको उनको भनाइ छ । उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको पनि उनले जानकारी दिए । उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताए ।
‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरु अनलाइनबाट सुरु गरिसकेका छौं । अत्यावश्यक आवश्यक सेवाहरु खानेपानी, विद्युत तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरुको लागि पनि हामीले तद्तद् निकायहरुलाई निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘हिजो र अस्ति मन्त्रालयका सचिवहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ । सुरक्षाको सम्बन्धमा नेपाली सेनाको नेतृत्वमा काम भइरहेको छ । सुरक्षास्थिति सामान्यउन्मुख छ ।’
अब जेनजी पुस्ताको मागहरुअनुसार सरकार बन्ने र नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार रहेको उनले बताए । ‘सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरिक्षणपछि छलफल पनि गर्यौं । कति क्षति भएको छ त्यसको आँकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरु भइरहेको छ’ उनले भने ‘त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं ।’
उनले नागरिकलाई अत्यावश्यक सेवा प्रवाह गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको पनि बताए ।
