रामेछापमा आज दिनभर निषेधाज्ञा: पाँच जनाभन्दा बढी भेला हुन पूर्ण प्रतिबन्ध

भाद्र २७, २०८२

नवराज श्रेष्ठ

रामेछाप — रामेछाप जिल्लाको शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राखेर रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन्।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू भएको आदेशअनुसार जिल्लाभर प्रदर्शन, जुलुस, हुलदङ्गा, घेराउ वा पाँचजनाभन्दा बढी व्यक्तिहरू भेला भएर विरोध कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी थापाले शान्ति–सुरक्षा कायम राख्न आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

यसअघि बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्लाका केही क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरिएको थियो। त्यस क्रममा मन्थली नगरपालिका–२ आकासे पुलदेखि दक्षिणतर्फ सुकाजोर खोला पुलसम्म, मन्थली–खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदो सीटीईभीटी सम्म, मन्थली नगरपालिका–१ को सम्पूर्ण क्षेत्र र रामेछाप नगरपालिका–८ भंगेरीदेखि गौरीशङ्कर माध्यमिक विद्यालय तथा रामेछाप अस्पताल क्षेत्रसम्म कडा सुरक्षा व्यवस्थासहित कर्फ्यु लागू गरिएको थियो। जिल्लाभर निषेधाज्ञा जारी गरी पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भई जुलुस, विरोध प्रदर्शन वा आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।


नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully