'संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितामा आघात नपुग्नेगरी राष्ट्रपतिले संकट समाधानमा पहलकदमी लिनुपर्छ र संसद्मार्फत संविधानसम्मत निकास खोज्नुपर्छ'
काठमाडौँ — पूर्व राजदूत,प्राध्यापक,कानुन व्यवसायी,नागरिक समाजका अगुवाहरू पीताम्बर शर्मा,मल्ल के सुन्दर,रत्नसंसार श्रेष्ठ,गीता त्रिपाठी,विन्दु शर्मा,टीकाराम भट्टराई, महेश मास्के,श्याम श्रेष्ठलगायतले संविधानको संरक्षक राष्ट्रपतिबाट संकटको निकास वैधानिक बाटोबाट निकाल्नुपर्ने बताएका छन् ।
‘नेपालको वर्तमान संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्र,धर्मनिरपेक्षता,संघीयता,समानुपातिक समावेशिता र समाजवाद उन्मुखताजस्ता आधारभूत प्रस्तावनालाई कुनै हानि नपुर्याई नेपाली जनताको प्रतिनिधि संस्थाको रूपमा र संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले नै संकट समाधानको पहलकदमी लिनु अपरिहार्य छ,’ उनीहरूले सुझाव दिएका छन्, ‘साथै नेपाली जनताले चुनेको प्रतिनिधिमूलक वैधानिक संस्था संसद् रहेको हुँदा यो संकटको निकास पनि संविधानसम्मत प्रक्रियामार्फत हुनुपर्छ भन्ने हाम्रो अडान रहेको पनि आम जनमानसलाई जानकारी गराउन चाहन्छौँ ।’
