लगातार तीन दिनसम्म चल्ने यो पर्वको समापनमा विभिन्न रंगका खट जुधाउने परम्परा छ ।
काठमाडौँ — काठमाडौंको असनमा नेवार समुदायको महत्त्वपूर्ण पर्व पाहाँ: चह्रे (पिशाच चतुर्दशी) बिहीबार सम्पन्न भएको छ । लगातार तीन दिनसम्म चल्ने यो पर्वको समापनमा विभिन्न रंगका खट जुधाउने परम्परा छ ।
प्रत्येक वर्ष चैत्र कृष्ण औंसीमा मल्लकालीन विभिन्न टोलमा जमिनमुनि पुरिराखेको लुकुमाद्य: (लुकिराखेको महादेव) लाई खोस्रिएर बाहिर निकाली पूजा गरिन्छ । त्यसकै वरिपरि व्रतबन्ध नगरेका किशोर र इही (बेलविवाह) नगरिएका किशोरीरूलाई भात खुवाइन्छ । लुकुमाद्य:को प्रसादका रूपमा त्यसरी भात खुवाउन दिएमा किशोरकिशोरीलाई रोगव्याधिले छुन सक्दैन भन्ने जनविश्वास छ ।
चाडमा विवाह भइसकेका चेलीबेटी, आफन्त साथीभाइलाई पाहुना गर्ने चलन छ । ३२ टोलका ज्यापू समुदायले मरजा: (तान्त्रिक विधिपूर्वक पकाइएको भात) खुवाउने गरिन्छ । अन्तिम दिन कंकेश्वरी, भद्रकाली (रातो) र भद्रकाली (नीलो) को खट जुधाउने परम्परा छ । त्यस्तै राति श्वेतकाली देवीको नाच प्रदर्शन गरिन्छ ।
पाहाँचह्रे पर्व मूलतः भद्रकाली र टुँडिखेलसँग सम्बन्धित जात्रा हो । औंसीको अपराह्न घोडा दौडाएर मनाइने जात्रा मूलतः टुँडिखेल केन्द्रित हो । लिच्छविहरूको नेपालमण्डल आगमनभन्दा धेरैअघिदेखि यो जात्रा मनाइन्थ्यो । टुँडिखेलको माथिल्लो भागदेखि पुच्छारसम्म हुने यो दौडमा घोडाको रफ्तार जति तीव्र हुन्थ्यो, त्यही गतिमा मुलुकमा सहकाल हुने स्थानीय आस्था थियो ।
![Watch: The splendor of Chahre Jatra [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/pahachare-jatra-4-1932026010514-1000x0.jpg&w=1001&h=0)
![Watch: The splendor of Chahre Jatra [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/pahachare-jatra-15-1932026010645-1000x0.jpg&w=1001&h=0)
![Watch: The splendor of Chahre Jatra [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/pahachare-jatra-14-1932026010637-1000x0.jpg&w=1001&h=0)
![Watch: The splendor of Chahre Jatra [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/pahachare-jatra-13-1932026010629-1000x0.jpg&w=1001&h=0)