टुँडिखेलमा मनाइयो घोडेजात्रा [तस्बिरहरु]

काठमाडौं उपत्यकामा बुधबार धुमधामका साथ घोडेजात्रा मनाइएको छ ।

चैत्र ४, २०८२

दीपेन श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिन्छ । टुँडिखेलमा हुने घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय थियो । सोही कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आज राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने परम्परा रहिआएको छ ।

दीपेन

Link copied successfully