शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ [तस्बिरहरु]

देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपतिनाथ मन्दिर क्षेत्रमा मेला लागेको छ । शिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ ।

फाल्गुन २, २०८२

दीपेन श्रेष्ठ

काठमाडौँ — शिवरात्रि पर्वको पूर्वसन्ध्यामा गौशालास्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ ।

देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ । शिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । फूलमालाले विशेष रुपमा सिँगारेर आकर्षक बनाइएको छ भने आर्यघाट र राममन्दिर क्षेत्रको बागमती किनारमा सफाइ गरिएको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ६६६औँ हप्ताको सफाइ पशुपति क्षेत्रस्थित राममन्दिर मुनिको नदी किनारमा गरिएको छ ।

‍‍शिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ । शिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन् ।

हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताए । पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उनले उल्लेख गरे । यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको उनले जानकारी दिए ।

गत वर्षभन्दा यस वर्ष साधुसन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमा भने यस वर्ष विगतमा भन्दा कम मानिस अघिल्लो दिन पशुपति क्षेत्रमा आएका कोषाध्यक्ष सापकोटाले बताए । 

दीपेन श्रेष्ठ

Link copied successfully