प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।
काठमाडौँ — काठमाडौँको पशुपतिनाथसहित देशभरिका शक्तिपीठहरूमा रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।
दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गरेको छ। यही परम्पराअनुसार देशका अन्य शक्तिपीठहरूमा समेत भक्तजनहरूले जाग्राम बसेर दीप प्रज्वलन र शतबीज छर्ने गर्दछन्। आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्लेषमान्तक वन, १०८ शिवलिंग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या त्रयोदशीका दिन मंगलबार राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका थिए ।

