राष्ट्रपति रामचन्द्र पौडेलले न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगी इन्द्रजात्रा अवलोकन गरेका छन् ।
काठमाडौँ — भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । राष्ट्रपति रामचन्द्र पौडेलले न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगी इन्द्रजात्रा अवलोकन गरेका छन् । २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका हुन् ।
जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भएका थिए । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार आइतबार माथिल्लो टोलमा रथयात्रा गराइने छ । यही भदौ २६ गते बिहीबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ ।


