मेलम्ची खानेपानीको पाइप जडानका लागि भन्दै गत जेठमा भत्काइएको सडक तीन महिनासम्म पनि बनेको छैन। वर्षाले सडक हिलाम्मे बन्दा स्थानीयवासीहरूलाई आवतजावत्मा सास्ती भएको छ।
काठमाडौँ — काठमाडौँको शंखमुलस्थित गणेश मार्ग मेलम्ची खानेपानीको पाइप जडानका लागि भन्दै गत जेठमा भत्काइएको थियो। तर तीन महिना बितिसक्दा पनि उक्त सडक बनेको छैन। वर्षाको झरीले सडक हिलाम्मे बन्दा स्थानीयवासीहरूले आवतजावत्मा सास्ती भोगिरहेका छन्।
शंखमुलको मुख्यचोकदेखि दोभान पुलतिर जाने यो सडकको दुरी भने धेरै लामो होइन, तर वर्षाका बेला सडक भत्काएर यत्तिकै छोडिदिएपछि स्थानीयवासी सास्ती खेप्न बाध्य छन्। यतिसम्म कि अब यो सडक कसले बनाउने भन्नेबारे समेत अन्योल छ। सडकका विषयमा जानकारी माग्दा काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणदत्त भण्डारीले सो सडक खण्ड आफूहरूको कार्यक्षेत्रमा नपर्ने बताए। 'यो भित्री सडक हो, हाम्रो कार्यक्षेत्रमा पर्दैन,' उनले भने।
उनका अनुसार यस्ता भित्री सडकको रेखदेख गर्ने जिम्मेवारी स्थानीय तहको हो। जसअनुसार यो सडक काठमाडौँ महानगरपालिकाको जिम्मेवारीभित्र पर्दछ। तर काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी नूरनिधि न्यौपानेले भने उक्त सडक भत्काउने मेलम्ची खानेपानी आयोजनाले नै बनाउनुपर्ने बताए। 'जसले भत्काएको हो, उसैले बनाउनुपर्ने हो। त्यहाँ खानेपानीले भत्काएको हो भने उसैले बनाउँछ,' उनले भने। सडक हिलाम्मे भएर पैदलयात्रु र विद्यालय जाने बालबालिकालाई समेत समस्या भएको छ।
![Shankhamul's road has been in a state of disrepair for three months [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mudduroadshankhamul08312025j2a9059-copy-0192025090349-1000x0.jpg&w=1001&h=0)
![Shankhamul's road has been in a state of disrepair for three months [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mudduroadshankhamul08312025j2a9049-copy-0192025090334-1000x0.jpg&w=1001&h=0)
![Shankhamul's road has been in a state of disrepair for three months [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mudduroadshankhamul08312025c7a9104-copy-0192025090255-1000x0.jpg&w=1001&h=0)