टुँडिखेलमा प्रशंसा संरक्षण समूहले गौरा पर्व कार्यक्रममा आयोजना गरेको थियो ।
काठमाडौँ — टुँडिखेलमा आइतबार देउडा खेलेर गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व, गौराका अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीलगायत भेला भएर पर्व मनाएका हुन् । टुँडिखेलमा प्रशंसा संरक्षण समूहले गौरा पर्व कार्यक्रममा आयोजना गरेको थियो ।
हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन छ । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् ।
गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसंग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउँछन् । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने/जाने चलन छ ।
![Gaura Festival was celebrated by playing Deuda in Tundikhel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gaura-3182025015202-1000x0.jpg&w=1001&h=0)
![Gaura Festival was celebrated by playing Deuda in Tundikhel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/87a3164-3182025015142-1000x0.jpg&w=1001&h=0)
![Gaura Festival was celebrated by playing Deuda in Tundikhel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/87a2682-3182025015111-1000x0.jpg&w=1001&h=0)
![Gaura Festival was celebrated by playing Deuda in Tundikhel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/87a2529-3182025015039-1000x0.jpg&w=1001&h=0)