पुल्चोक, ललितपुर — वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सोमबार ललितपुरस्थित मच्छिन्द्र बहालबाट बाजागाजासहित गुरूजुको पल्टनसहितको टोलीले ल्याएर पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएको छ ।
आज शुभ साईतमा मत्स्येन्द्रनाथलाई रथमा विराजमान गराइएको हो । रथारोहण गरेको तीनदिन पछि रथ जात्रा सुरू हुनेछ । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ । यो जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ ।