काठमाडौंमा ‘गौरव यात्रा’

जेष्ठ २७, २०८०

संजोग मानन्धर

काठमाडौँ — लैंगिक अल्पसंख्यक समुदायका अगुवाहरूले पाँचौं नेपाल गौरव यात्रा मनाइरहेका छन् । अंग्रेजी मिति अनुसार जुन महिनालाई उनीहरू 'प्राइड मन्थ' अर्थात् गौरव महिनाको रुपमा मनाउने गर्छन् । शनिबार पनि लैंगिक अल्पसंख्यक समुदायका अभियन्ताहरू काठमाडौंको शान्तिबाटिकामा भेला भएर 'प्राइड परेड' (गौरव यात्रा) निकालेका छन् ।

सन् १९६९ जुन २८ मा अमेरिकामा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई अधिकांश देशमा लैंगिक अल्पसंख्यक तथा अधिकारकर्मीहरूले गौरव महिनाको रुपमा मनाउने गर्छन् ।

यस अवसरमा इन्द्रेणी रंगको छाता र झण्डा फहराउँदै उत्सवको रुपमा 'प्राइड परेड' (गौरव यात्रा) गरिन्छ । नेपालमा भने २०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो । स्टोनवाल विद्रोहको ५० औं स्मरण दिवसको भोलिपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो ।

त्यसपछिका प्रत्येक वर्ष जुन महिनाको दोस्रो शनिबार नेपालमा गौरव यात्रा आयोजना गर्न थालिएको हो । २०७७ र २०७८ सालमा कोभिड महामारीका कारण अनलाइन माध्यमबाटै गौरव यात्राको आयोजना गरिएको थियो । यसपटक पाँचौं गौरव यात्रा भव्य रुपमा मनाइएको छ । क्विर युथ ग्रुपलगायतका लैंगिक पहिचानको अधिकार सम्बन्धी संघसंस्था तथा समूहहरूले यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

शनिबार क्विर युथ ग्रुपको आयोजनामा भएको गौरव यात्रा शान्तिबाटिकाबाट १२ बजे सुरु भएर जमल, दरबारमार्ग, नारायणहिटी, नागपोखरी हुँदै नारायणचौर पुगेर समापन गरिएको क्विर युथ ग्रुपकी प्रमुख कार्यकारी अधिकृत रुक्शना कपालीले जानकारी दिएकी छन् ।

संजोग

Link copied successfully