राज्यको वेवास्ताप्रति कलात्मक प्रतिरोध (फोटोफिचर)

गोकर्ण गौतम, तस्बिर : अनिस रेग्मी

काठमाडौँ — पेटमा बच्चा छ, असहाय छिन्, रोगी छिन् तर उपचार छैन, भोकै छिन् । तैपनि, अगाडि बढ्न खोज्छिन् तर कसैले पछाडिबाट तानिरहेको छ । साङलोले बाँधिएकी छन्, कराउँछिन्, चिच्याउँछिन्, गुहार माग्छिन् तर अँह ! कसैको साथ मिल्दैन । अस्पताल नपुगी उनको सास जान्छ । त्यसपछि बल्ल उनीबारे समाचार लेखिन्छ, उनको शव नै अखबारको खातले पुरिन्छ । अखबार रगतले लतपतिएका हुन्छन् ।

दुवै औंठा छापको बीचमा रातो धर्को कोरिएको छ । यो ‘सिम्बोल अफ कनेक्सन’ हो । औठा छाप श्रृंखला नै तयार पारिरहेका यी कलाकारले दुखी हुँदै भने, ‘लकडाउनमा विभेदको नयाँ–नयाँ स्वरुप देखिएको छ, मात्रा बढेको छ तर यसलाई निमिट्यान्न पार्न कुनै प्रभावकारी कदम चालिएको छैन ।’कलाका विभिन्न विधामार्फत राज्यप्रति आक्रोश र असन्तुष्टि पोख्ने साझा मञ्च थियो, ‘अभिभावकविहिन जनता’ अभियान । यहाँ रवि मिश्रका कार्टुन पनि राखिएको थियो । कार्यक्रममा कसैलाई औपचारिक आमन्त्रण गरिएको थिएन, होहल्ला गरिएको थिएन, कलाकर्मी दरबार स्क्वायरमा भेला भए र मौन शैलीमा कला पस्किनथाले । सेल्फी खिचिरहेकाहरु, मन्दिरका पेटीमा बसिरहेकाहरु, हतारमा हिँडिरहेकाहरु अनि त्यतिकै टहलिरहेकाहरु एकै ठाउँ आए अनि नाटक र चित्रकला नियाले ।

लेखक तथा अभियन्ता युग पाठकले यो ‘कलात्मक प्रतिरोध’ भएको बताए । ‘नागरिक चपेटामा फँस्दै गएका छन्, सरकारलाई चासो र चिन्ता छैन । बरु यही मौकामा ढुकुटी रित्याउँदै छ । हामी नागरिक अभिभावकविहिन भएका छौं,’ अभियानको औचित्य प्रष्ट पार्दै पाठकले भने, ‘जब राज्य दायित्वबाट विमुख हुन्छ र शासक मात्र बन्न खोज्छ, तब सचेत नागरिकले प्रतिरोध गर्नुपर्छ । आफ्नो अभिभावकत्व आफैं लिनुको विकल्प हुन्न ।’ उनले यस अभियान जनताको लागि थेरापी र सत्ताका लागि चुनौती भएको बताए ।

‘अभिभावकबिहीन जनता’मा शिल्पी थिएटर र ज्ञानदबूले अग्रसरता लिएका छन् । शिल्पीका घिमिरेले जर्बजस्ती भीड जम्मा नगर्ने तर जहाँ–जति मान्छे छन्, उनीहरुकै सामू शालीन शैलीमा कला पस्कने बताए । शनिबारकै कार्यक्रमका दौरान पनि उपस्थित दर्शकलाई भौतिक दुरी कायम गर्न र मास्क लगाउन अनुरोध गरिएको थियो । ‘लकडाउन क्लिसे भयो, कोरोना रोकथामका लागि सरकारले रचनात्मक र प्रतिफलमुकल काम गरेन, सरकारले नागरिकको विश्वास गुमाएको छ,’ नाट्यकर्मी घिमिरे भन्छन्, ‘बेचैन र उकुसमुकुस भएका पुरानै अवस्थामा फर्काउन र राज्यलाई जिम्मेवार बनाउन यस अभियानलाई निरन्तरता दिन्छौं ।’


प्रकाशित : असार २०, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्