[सम्पादकलाई चिठी] भ्रष्टहरूलाई कानुनी कठघरामा उभ्याऔं

अहिले देशको अर्थतन्त्र विदेशी दाताको सहयोग र रेमिट्यान्समा भर पर्नुपर्ने दयानीय अवस्थाको सिर्जना सानादेखि ठूलासम्म भ्रष्टाचार काण्डहरूकै कारण भएको हो ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

[Letter to the Editor] Let's bring the corrupt to justice

What you should know

दीपेश घिमिरेको ‘नेता मात्रै भ्रष्ट कि समाज पनि ?’ शीर्षकको विचारको निष्कर्ष नेता मात्रै सुधार्ने प्रयासले भ्रष्टाचारको अन्त्य नहुने हुँदा जेन–जी आन्दोलनको मर्मबमोजिम समग्र समाजकै पुनर्निर्माण आवश्यक रहेको भन्ने छ । अहिले देशको अर्थतन्त्र विदेशी दाताको सहयोग र रेमिट्यान्समा भर पर्नुपर्ने दयानीय अवस्थाको सिर्जना सानादेखि ठूलासम्म भ्रष्टाचार काण्डहरूकै कारण भएको हो ।

यसमा भ्रष्टहरूलाई कानुनी कारबाही गर्दै कानुनी कठघरामा उभ्याएर भ्रष्टाचारको न्यूनीकरण गर्न नसक्नुको परिणाम हो यो । नेपालमा लोकतन्त्र स्थापनापछि पनि भ्रष्टाचार न्यूनीकरणका लागि कानुन नबनाइएका होइनन् । २०६४ सालमा सुशासन ऐन र सूचनाको हकसम्बन्धी ऐन जारी गरियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन, सार्वजनिक खरिद ऐन, राजस्व तथा मूल्य अभिवृद्धि कर ऐनजस्ता कानुनहरू प्रजातन्त्र प्राप्तिपछि नै जारी भइसकेका थिए । तर जनताको पक्षमा पारदर्शिता र जवाफदेहिताको खोजी गर्न उपयुक्त मानिएका कानुन पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा भ्रष्टहरूको सामाजिक रवाफ यति बढ्यो कि उनीहरूले राज्यका हरेक निकायमा आफ्नो प्रभाव बनाए र आफूअनुकूल नीतिगत भ्रष्टाचारदेखि जस्तोसुकै भ्रष्टाचार काण्डहरू मच्चाउन पनि राजनीतिक दलहरूको काँधमा बुई चढ्न सफल भए ।

केही भ्रष्टहरूले गैरकानुनी कमाइलाई सांसदको टिकट किन्न प्रयोग गरेर निर्वाचित भए भने कोही दलीय कोटामा राजनीतिक नियुक्ति खान सफल भए । नातावाद र कृपावादको दुष्चक्रमा राज्य संयन्त्रहरू चुर्लुम्मै डुब्यो । यो सबै गैरकानुनी पैसाको चलखेल हो भन्ने आम जनमानसको बुझाइ छ ।

घिमिरेले लेखमा भनेजस्तो स्थानीय तहदेखि संघीय तहसम्म नै पारदर्शी सेवा प्रवाहको प्रणाली विकास गर्न विद्युतीय सुशासन प्रणालीको एकीकृत अवधारणा लागू गर्नुपर्छ । सिंगो मुलुकको प्रशासनिक संरचनामा सुधार गर्न देशको कार्यकारी प्रमुख, हरेक मन्त्रालय र मातहतका निकायको कार्यकारी प्रमुखले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्रमुख एजेन्डा बनाउने कुरा सोच्नु जरुरी छ । किनभने २३ र २४ भदौको जेन–जी आन्दोलनको प्रमुख एजेन्डा भ्रष्टाचारको भन्डाफोर नै थियो ।

घिमिरेले चुनौतीका रूपमा औंल्याएको भ्रष्टाचार न्यूनीकरणको एजेन्डा विद्यमान शिक्षा प्रणाली र सामाजिक मूल्यमान्यताको विनिर्माण र पुनर्निर्माणबाट गर्नुपर्ने तर्क एकदम सही लागेको छ । जेन–जी पुस्ता अहिले विश्वविद्यालयका विभिन्न कलेजमा अध्ययनरत अवस्थामा छ । त्यसैले सुशासन, पारदर्शिता, जवाफदेहिता, विधिको शासन, नैतिक आचारण, शिष्टाचारजस्ता विषयवस्तु पाठ्यक्रममा समावेश गरेर विद्यालय शिक्षा र उच्च शिक्षालाई व्यावहारिक बनाउन सके युवा पुस्ता पनि देशभक्तिको भावले ओतप्रोत भई भोलि राष्ट्र सेवामा समर्पित हुन सक्ने अवस्था आशाको किरण हो ।

शिक्षा नै समाजको ऐन भएकाले उच्च शिक्षा हासिल गर्न पुगेका युवा पुस्तालाई अब श्रम, रोजगारीसँग जोडेर सीपमूलक पठनपाठनमा सहभागी गराउन सकिएन भने उच्च शिक्षाको सार्थकता आर्थिक उन्नति र भ्रष्टाचार न्यूनीकरणसँग तालमेल नखान सक्छ । त्यसैले भ्रष्टहरूलाई हेर्ने सामाजिक सोचमा उच्च शिक्षाकै माध्यमबाट परिवर्तन जरुरी छ ।

अहिले राजनीतिक दलहरूभित्र मात्र शुद्धीकरणको अभियान चलेको छैन, सामाजिक संघसंस्था, विद्यालय, विश्वविद्यालय, निजामती प्रशासनलगायत समाजका सबै क्षेत्रको विकृति र विसंगतिको अन्त्यका लागि सामाजिक, आर्थिक, सांस्कृतिकलगायत सबै विषयमा खबरदारीको अभियान चलिरहेको छ । यो निरन्तर चलिरहनुपर्छ । अनि मात्र भ्रष्टाचारले आक्रान्त जनताको सारा निराशालाई चिर्दै सुशासनयुक्त नेपाली समाजको अनुभूति नेपाली जनताले गर्न पाउने छन् । 

– नोदनाथ त्रिताल, पनौती नगरपालिका–२, काभ्रे

कान्तिपुर संवाददाता

Link copied successfully