ओलीलाई चुनावको डर किन ?

चुनाव जित्न केवल एमालेको ६ लाख कार्यकर्ताले मत दिएर मात्र हुँदैन, जनताले पनि दिनुपर्छ । जुन ओलीको छुद्रो बोली र तानाशाही सोचको कारण पाउन गाह्रो छ । यही कारण ओली चुनावभन्दा संसद् पुनःस्थापनको अलाप फलाकिरहेका छन् । जुन समयसापेक्ष छैन ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Why is Oli afraid of elections?

What you should know

काठमाडौँ — प्रायः सबै राजनीतिक पार्टीहरू आगामी चुनावमा जान तयार भए पनि एमाले विशेषतः केपी शर्मा ओली अहिलेसम्म तयार भएका छैनन् ।

सुरक्षालगायत अन्य आरोपहरू जे–जस्तो लगाए पनि भित्री कारण भने पाँच महिनापछि नै हुने चुनावमा जेन–जी पुस्ताले ओलीको बोली सुनेर मत नदिने डर भएकाले हो । चुनाव जित्न केवल एमालेको ६ लाख कार्यकर्ताले मत दिएर मात्र हुँदैन, जनताले पनि दिनुपर्छ ।

जुन ओलीको छुद्रो बोली र तानाशाही सोचको कारण पाउन गाह्रो छ । यही कारण ओली चुनावभन्दा संसद् पुनःस्थापनको अलाप फलाकिरहेका छन् । जुन समयसापेक्ष छैन ।

ओलीले कहिले वर्तमान सरकारलाई ‘हा–हा–हु–हुको सरकार’ भन्छन्, कहिले ‘कोक फेन्टा चोर्नेहरूको आन्दोलनले देश बन्दैन’ भनेर अपमानजनक भाषा प्रयोग गर्छन् । उनको बेलाबेलाको यस्तो छुद्रो बोलीले गर्दा नै आन्दोलनमा ज्वारभाटा उठाउने काम गरेको हो । तथापि ओलीमा नम्र भाषा प्रयोग गरौं, अरूलाई सम्मानजनक शब्द प्रयोग गरौं भन्ने कुनै चेत पलाउन सकेको छैन । यस्तो अपमानजनक बोली–वचनले आउने चुनावमा एमालेलाई जेन–जी पुस्ताले भोट देलान् ?

समय सबैभन्दा बलवान हुन्छ । कसलाई कुन बेला कहाँ पुर्‍याउँछ भन्ने ठेगान हुँदैन । महिना दिनअघिसम्म ओली र देउवा जस्तो शक्तिशाली नेता अरू कोही थिएनन् । तर आज उनीहरूको ‘हस्तिनापुरको राज’ समाप्त भई ‘चपरीमुनीको बास’ भएको छ ।

उनीहरू जनताको नजरमा मात्र होइन, आफ्नै पार्टीभित्र पनि कमजोर भएका छन् । ओली र देउवा दुवैको राजनीतिक भविष्य अब लगभग सकियो । गणेशमान सिंह प्रधानमन्त्री पद त्याग गरेकै कारण आजसम्म जनताको नजरमा सम्मानित छन् तर ओली र देउवा ४/५ पटक प्रधानमन्त्री हुँदासमेत आज जनताले सम्मान नदिने अवस्थामा पुगेका छन् ।

देउवामा यो महसुस भए पनि ओलीमा अझै भएको छैन । जनतामा आशा जगाउन दण्डहीनताको अन्त्य र तत्कालै २५ अनियमित काण्डहरूको फाइल अघि बढाउनु जरुरी छ । अन्यथा जुन जोगी आए पनि कानै चिरेको हुनेछ । नेपालीहरूको आँखैअगाडि कलिला बालबालिकालगायत अन्य ७६ जना नेपालीलाई गोली हानेको दृश्य सबैले देखेका छन् ।

गोली हानिँदा देशमा को प्रधानमन्त्री थिए, को गृहमन्त्री थिए ? र, उनीहरूले पदमा बसेको हिसाबले त्यसको दायित्व बोक्नुपर्छ कि पर्दैन ? अहिलेको यक्ष प्रश्न हो यो । ७६ जनाको हत्या हुँदा पनि जाहेरी नदेऊ भनेर उन्मुक्ति दिन कुनै पनि सभ्य राज्यले मिल्छ ? यस्तो कार्यले दण्डहीनता बढाउँछ कि बढाउँदैन ? राज्यमा सुशासन आउँछ कि आउँदैन ? सबैले ठण्डा दिमागले सोचौं । यसर्थ वर्तमान सरकारले तत्कालै ओली र लेखकविरुद्ध जाहेरी लिएर पक्राउ गरी मुद्दा अगाडि बढाउनुपर्छ । अनि मात्र मृतक ७६ जनाको आत्माले शान्ति पाउँछ ।

जेन–जीहरूको माग केवल दुई वर्षपछिको निर्वाचन अगाडि सारेर चुनाव गराएर पुनः उही पुराना र भ्रष्ट नेताहरूलाई नै सत्ता सुम्पनु होइन । बरु देशमा सुशासन आओस्, भष्टाचारमुक्त समाज बनोस्, अनियमित काण्डहरूको फाइल अविलम्ब खुलोस्, २०४६ सालदेखिका भ्रष्टहरूको सम्पत्ति छानबिन होस्, दण्डहीनता अन्त होस् भन्ने हो ।

तर वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले अन्य सबै मागहरू थाती राखेर केवल निर्वाचनको मात्र रट लगाइरहेको छ । यो ठीक होइन । सरकारले २५ अनियमित काण्डको फाइल तत्काल खोलेर आम जनतालाई सुशासनका लागि वर्तमान सरकार अगाडि बढेको सन्देश दिनुपर्छ । अन्यथा कार्की सरकारप्रति पनि जनताको वितृष्णा बढ्न सक्छ ।

यो सरकारको शक्ति भनेकै जेन–जी र आम जनता हो । उनीहरू निराश भए, उनीहरू विभाजित भए, पुनः पुराना भ्रष्ट नेताहरूले नै अवसर पाउँछन् र देश पुरानै अवस्थामा पुग्छ । यसर्थ अहिलेको आवश्यकता भनेको जेन–जी र उनीहरूको ऐजेन्डामा एकरूपता हुनुपर्छ । जेन–जीहरू मिलेर अघि बढे मात्र देशमा दण्डहीनताको अन्त र सुशासनको उदय हुनेछ । – गोपाल देवकोटा, चाबहिल, पीपलबोट, कामपा–७

कान्तिपुर

Link copied successfully