देश बलियो भयो भने नागरिक बलिया हुन्छन् भन्ने कुरा इतिहासको पानामा पढ्न मात्र पाइन्छ अब । अहिले देश गरिब हुँदै छ, राजनीति गर्ने सीमित व्यक्ति, माफिया, बिचौलिया र भ्रष्टाचारी मोटाएका छन् ।
What you should know
काठमाडौँ — वायुसेवा निगम घाटामा किन ? यी र यस्ता खालका प्रश्न गर्न र गलत गर्नेलाई कारबाही गर्नेनिकाय मजबुद नभएकाले नै नेपाल वायुसेवा निगम घाटामा गएका होला भन्ने लाग्छ । हरेक यात्रुले पैसा तिरेर नै यात्रा गर्छ होला, पैसा लिएर कारोबार गर्ने संस्था कसरी घाटामा जान सक्छ ?
निजी वायु सेवा कम्पनीहरू फाइदामा जाने तर सरकारको मातहतमा रहेको वायुसेवा निगमचाहिँ जहिले घाटामा जाने किन ? हरेक सरकारी संस्थाहरू डुबाएर निजीकरण गर्ने होडबाजी चलेको छ । नेपाल टेलिकम, खानेपानी संस्थालगायत राज्यद्वारा सञ्चालित एक दर्जन संस्थाहरू निजीलाई बेचिसकिएको छ ।
देश बलियो भयो भने नागरिक बलिया हुन्छन् भन्ने कुरा इतिहासको पानामा पढ्न मात्र पाइन्छ अब । अहिले देश गरिब हुँदै छ, राजनीति गर्ने सीमित व्यक्ति, माफिया, बिचौलिया र भ्रष्टाचारी मोटाएका छन् । जेन–जीको आन्दोलन त्यसै भएको थिएन, पछि त्यो आन्दोलनले सार्थकता पाउन सकेन, त्यो बेग्लै कुरा भयो ।
लामो इतिहास बोकेको वायुसेवा निगममा अहिले ५२ अर्ब ऋण रहेको र सञ्चित घाटा ४ अर्बबाट बढेर १७ अर्ब पुगेको समाचार आएको छ । नेपाल वायुसेवा निगमका कार्यर्कारी अध्यक्ष युवराज अधिकारीको चार वर्षे कार्यकाल सकिन लाग्दा वायुसेवा निगमलाई ठूलो ऋण भार बोकाएर जाँदै छन् ।
राजनीतिक हस्तक्षेप, आन्तरिक कलह र फितलो व्यवस्थापनका कारण उनको कार्यकालमा निगमले अपेक्षित सफलता पाउन सकेन भन्दा फरक नपर्ला । निगमका कर्मचारीले सिट क्षमता हुँदाहुँदै सिट छैन भनेर यात्रुलाई फर्काउने, कर्मचारीलाई भ्रमणका लागि निःशुल्क टिकट उपलब्ध गराउने, निगम घाटामा जाँदा पनि कर्मचारीले बोनस खानैपर्ने जस्ता अनगिन्ती कारणले गर्दा आज वायुसेवा निगम घाटामा गएको छ ।
वायुसेवा निगम एक समय एसियाकै गौरवमय संस्थाका रूपमा उभिन सफल भएको थियो, आन्तरिक उडानदेखि अन्तर्राष्ट्रिय उडानसम्म निगमको एकाधिकार जस्तो थियो । तर बिस्तारै निगमको गति ओरालो लाग्दै गयो भन्दा फरक पर्दैन । जापान, जर्मन, लन्डनसम्म आफ्नो राष्ट्रिय ध्वजा बोकेर निगमका विमान उड्थे । अहिले आएर सबै रोकिएका छन् । कसका कारणले भन्दा पनि राजनीतिले । जबसम्म देशमा राजनीतिले नीति लिन र गति लिन सक्दैन, यस्तै हो हालत । – पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
