उनको सरकारका केही सदस्यहरूलाई त्यतिबेलाको संवेदनशील अवस्थालाई हेरेर सेनाले मोबाइलको साटो ल्यान्डलाइन प्रयोग गर्न लगाइएको प्रयोगकर्ताले नै बताएका छन् ।
What you should know
काठमाडौँ — कात्तिक ३, २०८२ को कान्तिपुरमा प्रकाशित ‘सेनाले फोन जफत गरेको तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूको दाबी’ शीर्षकको समाचारमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफू कामचलाउ प्रधानमन्त्री रहेकै बेला आफ्नो फोन सेनाले जफत (सिज) गरेको दाबी गरेका छन् ।
भदौ २३ गते १९ जनाको हत्यापछि २४ गते प्रदर्शनकारी बालुवाटार प्रधानमन्त्री निवास अगाडि बढेपछि सेनाले हेलिकोप्टरबाट उद्धार गरेर सुरक्षा दिएको तीन दिनसम्म अर्थात् प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण नसकिँदासम्म सञ्चार सम्पर्कबाट टाढा राखिएको र राजीनामा दिएपछि आफू सेनाको सुरक्षामा रहेको भनेर पत्रकार सम्मेलन गरेका छन् । उनको सरकारका केही सदस्यहरूलाई त्यतिबेलाको संवेदनशील अवस्थालाई हेरेर सेनाले मोबाइलको साटो ल्यान्डलाइन प्रयोग गर्न लगाइएको प्रयोगकर्ताले नै बताएका छन् ।
भदौ २३ देखि २७ सम्म चार दिनको अवस्था अत्यन्त संवेदनशील र अन्योलग्रस्त भएकैले देशलाई निकास दिने सिलसिलामा जेन–जी, राष्ट्रपति र सेनालगायत अन्य सहयोगीको बैठक बसिरहेको, प्रधानमन्त्री नियुक्तिका लागि सहमति जुटाउनुपर्ने संगीन निर्णय गर्नु परेकाले सूचनाहरू बहिरिन सक्ने देखेर सेनाले मोबाइलको साटो वैकल्पिक फोन उपलब्ध गराएको भनी सुरक्षा घेराभित्र रहेका धेरै प्रयोगकर्ताले स्वयम् बताएकै छन् ।
आखिर देशको कार्यकारी प्रधानमन्त्रीलाई नै यसरी सेनाको हेलिकोप्टरबाट उद्धार गरी मकवानपुरस्थित ब्यारेकमा किन राख्नुपरेको थियो ? मोबाइल फोन सम्पर्क गर्न नदिई सेनाले ‘सिज’ किन गर्नुपरेको थियो ? यदि सेनाले सुरक्षितसाथ ब्यारेकमा नलुकाएको भए र प्रदर्शनकारीले फोन लोकेसन ट्र्याक गरी ब्यारेकमै घेराउ गर्न पुगेका भए त्यतिबेला के हुन्थ्यो ? यस्तो अवस्था हुनुमा मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध सुरु गरेको शान्तिपूर्ण आन्दोलनमाथि भदौ २३ र २४ गते गरिएको हत्याविरुद्ध आन्दोलन चर्किएको होइन ? आन्दोलन पक्षलाई गोली हानेरै मारेपछि उत्पन्न आक्रोशबाट डराएर ५ दिनसम्म सेनाको शरणमा लुकेर बसेको हो कि होइन ? आन्दोलनको पहिलो दिन नै १९ जना र भोलिपल्ट पनि अबोध बालबालिकाको ज्यान लिनुको साटो आन्दोलनकर्ताका मागप्रति आत्मसात् गरी सही कदम चाल्नुपर्नेमा ताकीताकी गोली हानेर मारेको हो कि होइन ?
उपर्युक्त अवधिमा नेपाल सरकारको प्रमुख वा प्रधानमन्त्री को थियो ? आफैं सरकारमा भएको बेला घटेका सम्पूर्ण घटनाको जिम्मा लिनुपर्छ कि पर्दैन ? भदौ २४ गते आन्दोलनकारी भड्किएको, धेरैजनालाई गोली हानेर मारिएको, राष्ट्रिय महत्त्वपूर्ण संरचनामा आगलागी भएको खबर पाइरहँदा पनि दमन गर्न निर्देशन दिएको, तर राजीनामा नदिएर उल्टै सुरक्षकर्मीलाई थर्काएको र सेनाले नै अब नियन्त्रण गर्न नसकिने हुँदा राजीनामा दिई मार्ग प्रशस्त गर्न जोडबल गरेपछि मात्र धेरै क्षति भइसकेपछि मात्र बाध्य भई राजीनामा दिएर ५ मिनेटभित्र सेनाको हेलिकोप्टरमा भागेको आफैं स्विकारेको हो कि होइन ?
यदि त्यतिबेला अर्थात् प्रदर्शनकारी बालुवाटार प्रवेश गरेको ५ मिनेटभित्र सेनाले उद्धार नगरेको भए के हुन्थ्यो ? देशको अवस्था मत्थर भइसकेपछि फुत्त निस्केर सेनाले मोबाइल खोसिदियो, सरकारले गरेका निर्णय नमान्ने पत्रकार सम्मेलन गरेर कुन नैतिकताले घुर्की देखाएको हो ? धन्य राष्ट्रपति र सेनापति, जेन–जी र सुशीला कार्कीको अथक र कठिन पहलमा मुलुकलाई निकास दिएर अरू ठूलो क्षति हुनबाट बचाइएको तथ्य इतिहास साक्षी छ । गंगाराज अर्याल, पाणिनि–८, पाली, अर्घाखाँची
