जुनसुकै जाति, जुनसुकै समुदाय भए पनि रहे पनि सबै समुदायबीच धार्मिक आस्थामा जलाशय समीप रातभर भगवान्को ध्यान गरेर भजनकीर्तनसहित जाग्राम रहेर यस पृथ्वीस्थलमा संसारलाई पालनपोषणसहित उज्यालो दिलाउने सूर्यलाई ध्यानपूर्वक अर्घ चढाउनु नै यस पर्वको मुख्य विशेषता हो ।
What you should know
काठमाडौँ — आ–आफ्नो परिवारजनको सुख, शान्ति र समृद्धिको कामनासहित आशीर्वाद दिने–लिने नेपालीहरूको घरदैलोमा आउने ठूला र महान् चाड दसैं र मगमग बसाउने फूलैफूलको उज्यालो पर्व दीपावली तथा भाइटीका, तिहार सकिएलगत्तै आउने पर्व हो– छठ ।
२०८२ सालको छठ पर्व आज राष्ट्रव्यापी रूपमा मनाइरहेका छौं । एक दशकअघिसम्म तराई मधेशमा रहनुभएका समुदायले मात्र मनाउने छठ पर्व पछिल्ला वर्षहरूमा सहरिया समुदायदेखि पहाडी र मधेशी समुदायहरूको एकै ठाउँमा, पोखरी तथा नदी किनारमा बसेर संयुक्त रूपमा अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई फूलपाती, अनाज फलफूल एवं गाईको दूधदहीको अर्घ दिँदै मनाउने गरेका छन् । छठ पर्व सांस्कृतिक एवं धार्मिक सद्भावपूर्ण साझेदारी पर्व बन्न पुगेकोमा निकै खुसी लागेको छ ।
जुनसुकै जाति, जुनसुकै समुदाय भए पनि रहे पनि सबै समुदायबीच धार्मिक आस्थामा जलाशय समीप रातभर भगवान्को ध्यान गरेर भजनकीर्तनसहित जाग्राम रहेर यस पृथ्वीस्थलमा संसारलाई पालनपोषणसहित उज्यालो दिलाउने सूर्यलाई ध्यानपूर्वक अर्घ चढाउनु नै यस पर्वको मुख्य विशेषता हो ।
छठ पर्वले हामी मानिसबीच जुनसुकै अवस्थामा पनि उत्तिकै समान सम्मानपूर्ण व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ । मौसममा पनि न त जाडो छ, न त गर्मी नै । यस कात्तिक महिनाको पावन घडीमा पर्ने छठ पर्वलाई धुमधामसँग मनाउनु हामी सबैको दायित्व हो । छिटफुट हुने विकृतिलाई हटाउँदै समाजमा सामाजिक सद्भाव कायम गराउन सक्नु हामी सबै समुदायको कर्तव्य पनि हो ।
मानवबीच सद्भाव, सुख–शान्ति विकास एवं समृद्धि, सुशासनको चाहनासहित २०८२ को राष्ट्रव्यापी सांस्कृतिक पर्व छठको उपलक्ष्यमा सम्पूर्णलाई हार्दिक शुभकामना । तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं
