[सम्पादकलाई चिठीे] विश्वकपमा नेपाल : सामूहिक गर्वको क्षण

जब नेपाली टोली मैदानमा उत्रिन्छ, सबै जात, धर्म, भाषा र वर्गका नेपालीहरू एउटै स्वरमा चिच्याउँछन् ‘जय नेपाल’ तर उत्साह केवल क्षणिक खुसीमा सीमित हुनु हुँदैन । क्रिकेटको सफलता संरचनागत सुधार, खेल पूर्वाधार र दीर्घकालीन योजनामा परिणत हुनुपर्छ ।

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

जब देशका खेलाडीहरूले अन्तर्राष्ट्रिय मैदानमा सफलता देखाउँछन्, त्यही क्षण सारा राष्ट्रका लागि उत्साह र राहतको स्रोत बन्छ । नेपालले फेरि एक पटक इतिहास दोहोर्‍याएको छ, तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट हुँदै । यो केवल खेलको उपलब्धि होइन, यो देशको आत्मविश्वास पुनर्जीवित हुने क्षण हो ।

क्रिकेटका युवा खेलाडीहरूले देखाएको प्रतिबद्धता, धैर्यता र आत्मबल अहिले देशका हरेक नागरिकका लागि प्रेरणाको स्रोत बनेको छ । कुशल भुर्तेलको सानदार ब्याटिङ, सन्दीप लामिछानेको घातक बलिङ र कप्तान रोहित पौडेलको संयमित नेतृत्वले प्रमाणित गरेको छ संघर्ष जहाँ छ, त्यहीं सम्भावना पनि छ । दुःख, असन्तुष्टि र निराशाका बीच पनि जब कुनै देशले आफ्नो प्रतिभा पहिचान गर्छ, त्यो राष्ट्र हार्दैन । नेपालका क्रिकेटरहरूले यही सन्देश दिएका छन् ।

सन् २०१४ मा पहिलो पटक बंगलादेशमा विश्वकप खेलेको नेपालले अब भारत र श्रीलंकामा हुने विश्वकपमा तेस्रो सहभागिता सुनिश्चित गरेको छ । यो उपलब्धि केवल खेल इतिहासका लागि होइन, सामूहिक गर्वको क्षण हो । क्रिकेट अब केवल खेल मात्र होइन, यो राष्ट्रको एकताको प्रतीक बनेको छ ।

जब नेपाली टोली मैदानमा उत्रिन्छ, सबै जात, धर्म, भाषा र वर्गका नेपालीहरू एउटै स्वरमा चिच्याउँछन् ‘जय नेपाल’ तर उत्साह केवल क्षणिक खुसीमा सीमित हुनु हुँदैन । क्रिकेटको सफलता संरचनागत सुधार, खेल पूर्वाधार र दीर्घकालीन योजनामा परिणत हुनुपर्छ । राज्यले खेलकुदलाई प्राथमिकतामा राख्न सके मात्र यी उपलब्धिहरू स्थायी बन्न सक्छन् । अहिले नेपालका क्रिकेटरहरूले संसारका ठूला ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्ने बाटो खोलेका छन् । त्यस यात्रामा जित र हार दुवै आउलान्, तर त्यसको अर्थ सधैं एउटै हुनेछ नेपाल अघि बढिरहेको छ ।

–सन्तोष सिम्खडा, टोकियो, जापान

...

ओलीको अपमानजनक बोली

एमाले अध्यक्ष केपी शर्मा शर्माले कहिले वर्तमान सरकारलाई ‘हा हा हु हु’ को सरकार भन्छन्, कहिले ‘कोक, फेन्टा चोर्नेहरूको आन्दोलनले देश बन्दैन’ भनेर अपमानजनक भाषा प्रयोग गर्छन् । उनको बेलाबेलाको यस्तो छुद्रो बोलीले गर्दा नै आन्दोलनमा ज्वारभाटा उठाउने काम गरेको हो । 

तथापि ओलीमा नम्र भाषा प्रयोग गरौं, अरूलाई सम्मानजनक शब्द प्रयोग गरौं भन्ने कुनै चेत पलाउन सकेको छैन । यस्तो अपमानजनक बोली बचनले आउने चुनावमा एमालेलाई जेन–जी पुस्ताले भोट देलान् ? समय सबैभन्दा बलवान् हुन्छ जसले कसलाई कुन बेला कहाँ पुर्‍याउँछ ? कुनै ठेगान हुँदैन । महिना दिनअघिसम्म ओली र देउवा जस्तो शक्तिशाली नेता अरू कोही थिएनन् । आज उनीहरू जनताको नजरमा मात्र होइन आफ्नै पार्टीभित्र पनि कमजोर भएका छन् । लगभग ओली र देउवा दुवैको राजनीतिक भविष्य अब सकियो । देउवामा यो महसुस भए पनि ओलीमा अझै भएको छैन ।

–गोपाल देवकोटा, चाबहिल, पीपलबोट, कामपा–७

...

राजनीतिमा लागेकाको मात्रै होइन, हरेक व्यक्तिको मनमा नेपाली समाजमा भन्ने गरिएको जस्तो अलिकति ‘हरि’ हुने गर्छ । तर मन, मुटु र आत्मा कतै पनि अलिकति पनि ‘हरि’ नभएका व्यक्ति हुन्, एमालेका अध्यक्ष केपी शर्मा ओली । उनी देशको कार्यकारी प्रमुखमा रहेका बेला देशमा कुनै विपत्ति आइपरेर जनधनको क्षति हुँदा होस् या एउटा जिम्मेवार राजनीतिक दलको नेतृत्वमा रहेका बेला त्यस्तै खाले विपत्ति आइपर्दा होस्, उनको मन दुखेको अनुमान जोकोहीले पनि गर्न सक्दैन ।

किनकि उनमा त्यस्तो भाव झल्काउने कुनै पनि अनुभूति प्रकट भएको पाइँदैन । गत वर्ष असोजमा उनी देशको प्रधानमन्त्री भएकै बेला देशमा बाढीपहिरोले ठूलो धनजनको क्षति भयो । देशमा त्यत्रो विपत्ति आइपर्दा उनी अमेरिकाको भ्रमणमा थिए । नेपाल फर्केपछि उनले उक्त घटनाप्रति औपचारिकताका रूपमा मात्रै दुःख व्यक्त गरे तर ‘मौसमविद्ले पानी पर्छ भने पनि कुन कुन ठाउँमा पहिरो जान्छ, बाढी आउँछ भनेका थिएनन् नि’ भन्ने जस्ता अभिव्यक्ति दिएर व्यवहारमा उनले त्यस्ता घटना हुने गर्छन् भनी सामान्य रूपमा अर्थ्याइदिए । त्यसैगरी गएको भदौ २३ र २४ गते जेन–जी आन्दोलन चलिरहँदा पनि उनै ओली प्रधानमन्त्री थिए ।

आन्दोलनको पहिलो दिनमै विद्यार्थीसहित १९ जना कलिला युवाहरूले ज्यान गुमाइसकेका थिए । आन्दोलनमा आन्दोलनकारीमाथि आक्रमण गर्ने वा गर्न आदेश दिने जोसुकै होस् तर नेतृत्वमा बस्नेले त्यसको जिम्मेवारी बहन गर्नुपर्छ र प्रायः जोकोहीले पनि त्यसो गरेको हामीले देखी–सुनी आएका नै छौं । तर केपी ओलीको पालामा जति पटक यस्ता घटना घट्छन्, उनले कहिल्यै पनि त्यसको जिम्मेवारी बहन गरेको पाइएन । बरु उनी आफैं माथि परेर अरूलाई दबाउने कसरतमा लागिरहने एक अमानवीय जीव जस्तो भएर प्रकट भएको देखियो ।

सधैंभर आफूलाई सर्वेसर्वा ठान्ने ओलीले न त कहिल्यै कानुन मानेको देखिन्छ, न त अरूलाई मानिसका रूपमा व्यवहार गरेको नै झल्किन्छ । भर्खरै भएको राजनीतिक परिवर्तनमा जिम्मेवार पदमा नरहेका केही राजनीतिक नेतृत्वले कतै न कतै आफ्नो कमजोरी वा जिम्मेवारी बोध गरेर केही केही कदम चालेको देखियो तर मुख्य भूमिकामा रहेका उनै ओली तत्कालीन परिस्थितिबाट टसको मस भएको पाइँदैन । बरु उनी आफूलाई जंगबहादुरको शैलीभन्दा पनि माथिल्लो तहमा स्थापित गरेर अगाडि बढिरहेका छन् ।

तत्कालीन सत्ता गठबन्धनमा सँगै आगामी प्रधानमन्त्रीको पालो कुरेर बसेका उनका राजनीतिक सहकर्मी शेरबहादुर देउवाले पार्टीको नेतृत्वमात्र छोडेनन्, सक्रिय राजनीतिबाट नै अलग रहेर बदलिँदो परिस्थितिलाई स्वीकार गरे र उनले एउटा जिम्मेवार र असल अभिभावकत्व प्रस्तुत गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षलाई महाधिवेशन आयोजक समितिको संयोजकका रूपमा आफूलाई परिवर्तन गराएरै भए पनि थोरै जिम्मेवारी लिएको देखियो । तर ओलीले कहींकतै पनि आफूलाई जिम्मेवार ठानेनन् । उनले अझै वातावरण भड्काउने, कार्यकर्ता उचाल्ने जस्ता भड्किला अभिव्यक्ति दिइरहेका छन् । आशा गरौं, केपी ओली जस्ता पात्र न त यसअघि राणादेखि शाहकालसम्म जन्मिएका थिए, न त आगामी दिनमा नै जन्मेलान् ।

–सुजन देवकोटा, पालुङ्टार– ४, गोरखा

...

देशलाई विश्वसामु चिनाउने राम्रो माध्यम खेलकुद हो । यसलाई राज्यले कति महत्त्व दिएको छ, खेलाडीलाई कति सुविधा दिएको छ, अवकाशपछि खेलाडीलाई के सुविधा छ भन्ने सबाल आउँछ । नेतालाई सुविधामाथि सुविधा, खेलाडीलाई केही छैन । कम्तीमा खेलमै लागेर उसको जीवन चल्न सकोस्, उसले अन्य कुरा सोच्न नपरोस् । एउटा खेलाडी खेल मैदानमा घाइते भयो भने उसको जिम्मेवारी कसले लिन्छ ? नेपालमा एउटा राम्रो रंगशाला नहुँदा पनि नेपाली क्रिकेट टोलीले विश्वकप खेल्न पाउँदै छ । यो गर्वको विषय हो । जुन खेलबाट आस गर्न सकिन्छ, त्यसलाई महत्त्व दिनुपर्छ ।

क्रिकेटमा पूर्वकप्तान पारस खड्काले राम्रो गरेका छन् भन्ने लाग्छ । उनको हौसला र प्रोत्साहनका कारण क्रिकेट खेलाडीको मनोबल बढेको छ । टेस्ट मान्यता राष्ट्रसँग खेल्न पाउनु नेपाली खेलाडीका लागि गर्वको विषय हो । राज्यले क्रिकेटका बारेमा सोच्ने हो भने यसले अझ लगानी गर्नुपर्छ । हरेक जिल्लामा क्रिकेट मैदान बनाउनुपर्छ भन्ने लाग्छ । भ्यु टावर बनाउने पैसाले क्रिकेट मैदान बनाएको भए कति फाइदा हुन्थ्यो । अन्य देशका खेलाडी नेपालमा खेल्न आउँथे, जसका कारण विश्वसामु नेपालको शिर उच्च हुन्थ्यो । व्यापार व्यवसाय बढ्थ्यो । विदेशी मुद्रा नेपाल भित्रिन्थ्यो । अहिलेसम्म राम्रो स्टेडियम छैन भन्न लाज लाग्नुपर्ने होइन ?

–पुरुषोत्तम घिमिरे, जोरपाटी काठमाडौं

कान्तिपुर

Link copied successfully