नेपाली कांग्रेसकै भित्रको असन्तुष्टि, युवाको आन्दोलन र देशभर फैलिएको ‘पुराना अनुहार जाऊन्’ भन्ने मागबीच देउवाको राजनीतिक अवसान नजिकिएको हो । जेन–जी विद्रोह नैतिक जिम्मेवारीको आह्वान पनि हो– जहाँ नेताले कुर्सी होइन, उत्तरदायित्व देखाउनुपर्छ ।
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनले नेपालमा पुरानो पुस्ताको राजनीतिक युगलाई नै हल्लाइदिएको छ । यही आन्दोलनको मोलाहिजा, असन्तोष र आम नागरिकको आक्रोशबीच अब नेपाली कांग्रेसका दीर्घकालीन नेता शेरबहादुर देउवाको राजनीतिक यात्रा अन्त्यतिर पुगेको देखिन्छ । देउवा युगको अन्त्य स्वाभाविक हो ।
कारण, समयले नयाँ पुस्ता र नयाँ दृष्टिकोण खोजिरहेको छ । तर, उनको जीवनयात्राका लागि यो क्षण निश्चय पनि दुःखद छ । जसरी उनी धेरै पटक राजनीतिक पुनरागमनका प्रतीक बने, अहिले भने परिस्थिति र पुस्ता दुवैले उनलाई बिदा गर्न तयार छन् ।
देउवाको राजनीतिले नेपालमा स्थायित्व ल्याउन सकेन, तर उनले अस्थिरता सहँदै पनि पार्टी र व्यवस्थाको ढाँचा जोगाउने प्रयास भने गरे । कति पटक आलोचनाका भुमरीमा परे पनि उनी लोकतन्त्रको एक स्तम्भका रूपमा उभिन खोजिरहे । तर, अहिलेको जेन–जी पुस्ता– जसको सोच, दृष्टि र अपेक्षा फरक छ– त्यो शैलीका नेताबाट सन्तुष्ट छैन । उनीहरू नीति होइन, नतिजा खोजिरहेका छन् । पुराना पुस्ताका भाषणभन्दा नयाँ पुस्ताका प्रश्नले नै अब राजनीति घुमाइरहेको छ ।
नेपाली कांग्रेसकै भित्रको असन्तुष्टि, युवाको आन्दोलन र देशभर फैलिएको ‘पुराना अनुहार जाऊन्’ भन्ने मागबीच देउवाको राजनीतिक अवसान नजिकिएको हो । जेन–जी विद्रोह नैतिक जिम्मेवारीको आह्वान पनि हो– जहाँ नेताले कुर्सी होइन, उत्तरदायित्व देखाउनुपर्छ ।
अब प्रश्न उठ्छ– यो देउवा युगको अन्त्य हो कि केवल नयाँ सुरुवातको पूर्वसन्ध्या ? इतिहासले उनलाई सम्झिनेछ– संघर्षमा टेकेर सत्ता पाउने नेता, तर नयाँ पुस्ताको भाषामा नघुल्न सक्ने पुरानो पुस्ताको प्रतीकका रूपमा । देउवाको बिदाइ नेपाली राजनीतिका लागि स्वाभाविक हुन सक्छ, तर उनको जीवनयात्राका लागि यो निश्चय पनि दुःखद अवसान हो ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा अब आउने आसन्न पार्टी महाधिवेशनमा आफू पार्टी सभापति नबन्ने घोषणा गरे । त्यति मात्र होइन, उनले तत्कालका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिए र आगामी अधिवेशन गराउने जिम्मा पनि उनलाई नै दिएका छन् । अहिलेको अवस्थामा नयाँ पुस्ता आउन पर्यो भन्ने जनमानसको आवाज देउवाले सुनेर आफू पन्छिए भन्दा फरक नपर्ला । पार्टीमा एउटै व्यक्तिले नेतृत्व गर्दा जनमानसमा नैराश्य छाएको थियो । नेपाली कांग्रेसले रूपान्तरण गरेर नयाँ सन्देश दिएको छ । यसलाई नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डले मनन गरे बेस होला । ६२ वर्ष लामो राजनीति यात्रामा पाँच पटक प्रम र दुई कार्यकाल पार्टी सभापति बनेका देउवालाई जेन–जी आन्दोलनले विश्राम गरायो भन्दा फरक नपर्ला ।
अहिले नेपालको राजनीति तीन जना नेताको सेरोफेरोमा घुमेको थियो । नेपाली कांग्रेसका देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाहेक अन्य नेता नै छैनन् कि भन्ने देखिएको थियो । जेन–जी आन्दोलनले यसलाई भत्काएको छ । हाम्रो विकल्प छैन, हामी नभएर पार्टी डुब्छ भन्ने गरेका थिए, त्रि–दलका त्रि–नेताहरूले । अब हरेक पार्टीका युवा नेताहरूले आँट गर्नुपर्छ । पार्टीको नेतृत्व हामी गर्छौं भनेर अघि सर्नुपर्छ । नेपाली कांग्रेसमा गगन, विश्व प्रकाशलगायतका नेताहरूले जुन आँट र साहस गरे, त्यसैगरी अन्य पार्टीमा पनि युवा अगाडि सर्नुपर्छ ।
–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
![[Letter to the Editor] The End of the Deuba Era](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/letter-16102025031153-1000x0.jpg&w=1001&h=0)