हामीले वैदेशिक रोजगारीमा सुरक्षा सुनिश्चित गर्नुपर्नेछ, आफ्ना नागरिकको आवाज अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनुपर्नेछ । साना राष्ट्रहरूले एकअर्कासँग हातेमालो गर्नुपर्नेछ, ताकि शक्तिशालीहरूको रणनीतिक खेलमा हामी सधैं बलिदान नबनौं ।
What you should know
जीवित फर्कने आशामा बालिएको विपिन जोशीको दियो अन्ततः निभ्यो । दुई वर्ष, एक साता र असंख्य पीडाले भरिएका रातहरूको प्रतीक्षा, आँसु र मौन प्रार्थनापछि आएको यो खबरले केवल एउटा परिवारको संसार होइन, सिंगो मानवताको दियो नै मधुरो बनाइदियो । सुदूरपश्चिमको एउटा गाउँबाट भविष्य खोज्दै इजरायल पुगेका कृषि विद्यार्थी विपिन, ‘अर्न एन्ड लर्न’ कार्यक्रमका सामान्य नेपाली युवामध्ये एक थिए ।
तर २०२३ अक्टोबर ७ का बिहान उनले असाधारण साहस देखाए, जब हमासका लडाकुहरूले तिनीहरू लुकेको बंकरमा ग्रिनेड प्रहार गरे । विपिनले त्यो ग्रिनेड हातैले समाते र बाहिर फाले आफ्ना साथीहरूको ज्यान बचाए । तर त्यस वीरतापछि उनी लडाकुहरूको कब्जामा परे ।
अल सिफा अस्पतालको सीसीटीभीमा टाउकोमा कपडा बेरेर लैजाँदै गरेको दृश्यले आज पनि हामीलाई नथामिने पीडा दिन्छ । विपिनको कथा केवल एउटा व्यक्ति वा राष्ट्रको कथा होइन । यो साना मुलुकका असंख्य युवाहरूको साझा नियति हो, जसले परदेशमा पसिना बगाउँछन् र शक्तिशाली राष्ट्रहरूको राजनीतिक खेलमा आफ्नो अस्तित्व गुमाउँछन् ।
दुई वर्षसम्म विपिनका परिवारले आमा पद्मा, बहिनी पुष्पा र गाउँका गाउँलेले उनलाई फर्काउने आशा बोके । तर संसारका ठूला राष्ट्रहरू, जसका हातमा युद्ध र शान्ति दुवैका बटन छन्, उनीहरूको आवाज सुन्न तयार भएनन् । थाइल्यान्डले २९ नागरिक उद्धार गर्यो, जापानले आफ्ना बन्धक फर्कायो, तर नेपालले केवल प्रतीक्षा गर्यो ।
अमेरिकी भिटोले संयुक्त राष्ट्रसंघको प्रस्ताव रोकिरहँदा, हजारौं निर्दोष बालबालिकासहित विपिनजस्ता युवाहरू ‘कोलेटरल ड्यामेज×’ का नाममा बलिदान बनाइए । शक्तिशालीहरूको युद्धमा मानवीयता सधैं हार्छ । अमेरिका र इजरायलले आफ्नो सुरक्षा नीतिको नाममा बम बर्साउँछन्, इरान र कतारले प्रतिशोधको झन्डा फहराउँछन् । तर यो भिडन्तमा मर्ने गाजाका बालबालिका, इजरायली बन्धक र नेपालका विपिनजस्ता सबै एउटै वर्गका हुन् निर्दोषहरू ।
विश्वको दोहोरो मापदण्ड यति नाङ्गो छ कि, जब युक्रेनमा आक्रमण हुन्छ, मानवअधिकारको रट मच्चिन्छ । तर गाजामा हजारौं मानिस मर्दा संसार मौन बस्छ । किनभने त्यहाँ पीडित गरिब छन्, जसको मूल्य शक्तिशालीहरूको राजनीतिमा सस्तो छ । नेपाल जस्तो देशको नाम संयुक्त राष्ट्रसंघका मञ्चहरूमा क्वचित् मात्र सुनिन्छ, किनकि हाम्रो आवाज उनीहरूको माइकसम्म पुग्दैन । हाम्रो नागरिक मरे पनि विश्वका नेताहरूको ‘कूटनीतिक सन्तुलन’ हल्लिँदैन ।
तर आज हामीले भन्नैपर्छ यो केवल विपिनको मृत्यु होइन, यो सिंगो विश्वको नैतिक पराजय हो । विपिनको दियो निभ्यो, तर त्यसको उज्यालोले संसारलाई एउटा गम्भीर प्रश्न दिएको छ ।
मानवताको मूल्य कति सस्तो भएको हो ? हामीले वैदेशिक रोजगारीमा सुरक्षा सुनिश्चित गर्नुपर्नेछ, आफ्ना नागरिकको आवाज अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनुपर्नेछ । साना राष्ट्रहरूले एकअर्कासँग हातेमालो गर्नुपर्नेछ, ताकि शक्तिशालीहरूको रणनीतिक खेलमा हामी सधैं बलिदान नबनौं ।
विपिनको आत्माले शान्ति पाओस् । तर उनको बलिदान केवल शोकमा सीमित नहोस् । त्यो नयाँ जागरण बनोस्, जसले साना राष्ट्रहरूलाई बोल्ने हिम्मत देओस्, मानवतालाई विवेक सम्झाओस्, शक्तिशालीहरूलाई चेतावनी देओस् ।
हातमा ग्रिनेड होइन, हृदयमा करुणा चाहिन्छ ।
–सन्तोष सिम्खडा, टोकियो, जापान
![[Letter to the Editor] The lamp of hope has gone out](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/bipin-joshi-08102025040959-1000x0.jpg&w=1001&h=0)