बालबालिकालाई भाषा, संस्कार, संस्कृति, नैतिक शिक्षाबाट अलग्याइएको छ, किताबको भारी, कक्षाको पढाइ, ट्युसनसमेतबाट ११–१२ घण्टासम्म शिशु, बालबालिकालाई कछेटेर चरम मानसिक र शारीरिक पीडातर्फ धकेल्ने काम भएको छ ।
What you should know
काठमाडौँ — विज्ञानको क्षेत्रमा प्रसिद्धि कमाएका महावीर पुन शिक्षामन्त्री बनेपछि देश/विदेशमा बस्ने नेपालीमा नयाँ आशा जागेको छ । लामो समयदेखि चरम राजनीतीकरणको दुश्चक्रमा फसेको शिक्षा क्षेत्र उनकै कार्यकालमा सप्रिनेमा युवा विद्यार्थी मत्रै होइन, आमजनसमुदाय पनि धेरै आशावादी छ । अहिले सहरदेखि गाउँसम्म, विश्वविद्यालयदेखि प्राथमिक विद्यालयसम्म राजनीतिक नङराले नचिथोरेको ठाउँ भेटिँदैन ।
प्रथमतः राजनीतिक भागबन्डाबाट शिक्षण, प्राज्ञिक क्षेत्रमा नियुक्ति पाउने अदक्ष, नेताका आफ्ना मान्छेले संस्थाहरूलाई कुरूप बनाउँदै लगेका हुन् भने विज्ञहरू पाखामा बसेर टुलुटुलु हेर्न बाध्य छन् ।
राजनीतिक आडमा त्रिभुवन विश्वविद्यालय परिसरको जग्गा हडप्ने, संघसंगठनका विद्यार्थीले प्राध्यापक, पदाधिकारीलाई कुट्ने, पुस्तकालयमा आगजनी गर्ने, महिनौंसम्म तालाबन्दी गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने सन्दर्भ होस् या विश्वविद्यालयका प्रशासकले समयमा परीक्षा सञ्चालन नगर्ने, नतिजा प्रकाशन गर्न वर्षौं लगाउनेलगायत विषय नै किन नहुन्, यसबाट लाखौं विद्यार्थी, अभिभावक प्रताडित बनिरहेका छन् ।
उता नेपालमा संस्कृत भाषाको आयाम बढाउन, आचार्य, शास्त्री तहसम्मको पठनपाठन सञ्चालन गर्न, देश/विदेशमा पूर्वीय दर्शनको गरिमा बढाउन स्थापित दाङको संस्कृत विश्वविद्यालय परिसर विभिन्न संघ–संगठनका विद्यार्थी, कर्मचारीको कुस्ती खेल्ने ठाउँ बनेको छ । लामो समयसम्म हुने गरेको तालाबन्दीले अन्य शिक्षण संस्थाको रेकर्ड तोडेको छ ।
३६ वर्षको अवधिमा बनेका साढे दुई दर्जन सरकारका शिक्षामन्त्री कसैले शैक्षिक सुधारमा ध्यान दिएनन्, मौलिक शिक्षाबाट समृद्धि, सभ्यता, संस्कृति जोगिने यथार्थ बुझेनन् ।
पछिल्लो समय शैक्षिक बेथितिको सुधारलाई तयार पारिएको शिक्षा विधेयक शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालकले पारित हुन पनि दिएनन् । विशेषतः निजी विद्यालयका पाठ्यक्रममा एकरूपता नहुनु, शिक्षक बदलिरहनु, व्यावहारिक, प्राविधिक ज्ञानभन्दा घोकन्ते विद्यालाई प्राथमिकता दिनु, नेपाली समाज, भूगोल, इतिहासबारे बालबालिकालाई जानकारी दिने पाठ्यक्रम नहुनु युवा पलायनका बीउ बन्दै आएका छन् ।
बालबालिकालाई भाषा, संस्कार, संस्कृति, नैतिक शिक्षाबाट अलग्याइएको छ, किताबको भारी, कक्षाको पढाइ, ट्युसनसमेतबाट ११–१२ घण्टासम्म शिशु, बालबालिकालाई कछेटेर चरम मानसिक र शारीरिक पीडातर्फ धकेल्ने काम भएको छ । यी शैक्षिक बेथितिको पोस्टमार्टम नगरेसम्म शिक्षामा सुधार आउँदैन । सबै विकृति हटाउन अहिलेका शिक्षामन्त्री काबिल छन्, उनकै कार्यकालमा शिक्षा क्षेत्रका सबै विकृति र विसंगति हटेर जाऊन् ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
![[Letter to the editor] End academic malpractice](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/whatsapp-image-2025-10-13-at-80933-pm-14102025034057-1000x0.jpg&w=1001&h=0)