परिवर्तनका वाहक बनेका युवा (जेन–जी पुस्ता) ले पनि अब आफ्नो आन्दोलनको ऊर्जा र आक्रोशलाई विध्वंसतिर जान नदिन उच्च सतर्कता र आत्मनिरीक्षण गर्नु जरुरी छ ।
काठमाडौँ — दलीय व्यवस्थामा दल तथा नेतृत्व अपरिहार्य छन् । तर, दशकौंदेखि राजनीतिमा हाबी भएका र गल्ती दोहोर्याइरहने ‘दोषी र बूढो’ नेतृत्वप्रति नेपाली जनतामा चरम वितृष्णा बढेको यथार्थ हो । तसर्थ, अब यी नेताहरूले आत्मसमीक्षा गर्दै स्वेच्छाले आराम गर्नुपर्छ । ‘मैले मात्र पार्टी र देश जोगाउँछु’ भन्ने अहम् पालिरहनु घोर अहंकारको पराकाष्ठा हो । प्रकृतिको नियमअनुसार रिक्त स्थान अवश्य भरिन्छ ।
परिवर्तनका वाहक बनेका युवा (जेन–जी पुस्ता) ले पनि अब आफ्नो आन्दोलनको ऊर्जा र आक्रोशलाई विध्वंसतिर जान नदिन उच्च सतर्कता र आत्मनिरीक्षण गर्नु जरुरी छ । अबको मुख्य कार्यभार भनेको भुइँतहका जनताको अवस्थालाई केन्द्रमा राखेर राजनीतिक असन्तोषलाई चौतर्फी विकासको सार्थक अभियानमा रूपान्तरण गर्नु हो । तब मात्र साँचो परिवर्तन सम्भव हुन्छ । देशले थप आन्दोलन र विध्वंसको मार अब थेग्न सक्दैन । अबको प्राथमिकता मुठभेड होइन– समृद्धि हो, विरोध होइन– निर्माण हो, विभाजन होइन– एकतामा बाँधिएको साझा भविष्य हो ।
समय ज्यादै चुनौतीपूर्ण छ । तैपनि, अहिलेको अन्तरिम सरकारप्रति मुलुकले ठूलो अपेक्षा राखेको छ । यसको प्रमुख दायित्व भनेको कानुनी शासन पुनःस्थापना गर्नु, पारदर्शिता सुनिश्चित गर्नु र जनताको विश्वास फिर्ता ल्याउने बलियो आधार बनाउनु हो । यदि यो सरकारले मितव्ययिता, जवाफदेहिता र सुशासनको बलियो जग बसाउने कामलाई प्राथमिकता दियो भने यो अन्तरिमकाल नै नेपालको स्थायी सुधारको प्रारम्भबिन्दु बन्न सक्छ ।
–इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
![[Letter to the editor] Let's move toward prosperity, not confrontation](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)