राजनीतिक संस्कार बिग्रियो भने सामाजिक संरचना पनि भताभुंग हुन्छ भनेको अहिले सही साबित भएको छ ।
What you should know
सञ्चारमाध्यमको विकास हुनुपूर्व हरेक तानाशाहले हतियार र प्रत्यक्ष शब्दवाणले आक्रमण गर्दथे । कुनै निश्चित परिवार र गुट/उपगुटको बोलवाला चल्दथ्यो भनिन्छ । बिस्तारै सञ्चारको विकास हुँदै गयो । मानिसले शब्दवाण प्रहारको सिको सिक्दै गए । पीत पत्रकारिताको विकास भयो । समाज झन् भाँडिँदै गयो । हरेक राज्यको विकाससँगै विनाश पनि निम्तिँदै गयो ।
संस्कारसँगै संस्कृतिको पनि विचलन हुँदै गयो । पछि नयाँ मिडियामा सामाजिक सञ्जालबाट राजनीतिक खेलका लागि एकअर्कामा शब्दवाण प्रहार हुन थाल्यो । पूर्वीय संस्कृतिका विरुद्ध पहिला हतियार युद्ध लादिन्थ्यो । पछि बिस्तारै सञ्चारमाध्यममार्फत पश्चिमी सांस्कृतिक साम्राज्यवादको वर्चस्व कायम हुँदै गयो ।
हामीले चाडपर्व, हाम्रो रीतिरिवाजमा पनि पश्चिमा नुनचुक मिसाउँदै गयौं । गरिब देश भन्यौं तर कसरी गरिब भयो, कहिल्यै बुझेनौं । धनी भइएन भन्दै सुझबुझका युवा बाहिर लखेट्यौं तर तिनको सदुपयोग गर्नेतिर नेतृत्व कहिल्यै लागेन । हामी पनि पहाडको कोदोको ढिँडो, मकैको भात अनि फापरको रोटी खान छोडेर पिजा र बर्गरमा भुल्यौं । घुँडामा प्वाल परेको जिनको पाइन्ट र आधुनिक ब्लाउज अनि लुंगी लगाउन रम्यौं । आखिर अहिले नेपालको अवस्था र विदेशीको गिद्देदृष्टि अनि हामीमा रहेको विदेश मोहका कारण सम्झिनुहोला, अबको केही वर्षमा विदेशिएकाको नेपाल मोह, सहरियाको गाउँ मोह, उही पुरानो संस्कारमा नगई सुखै छैन ।
राजनीतिक संस्कार बिग्रियो भने सामाजिक संरचना पनि भताभुंग हुन्छ भनेको अहिले सही साबित भएको छ । दलीय संरचनाले सत्तामा बस्ने दलले प्रतिपक्षलाई हेप्यो भन्ने अनि प्रतिपक्ष पनि कहिले सत्तामा पुगिएला भन्ने तर सबै दल मिलेर राष्ट्रियताको मामलामा विदेशी नीतिमा एक नहुने र खालि कुर्सीको मात्र सपना बोक्नाले आज दोबाटोमा प्रधानमन्त्री खोज्दै हिँड्नुपर्ने बेला आयो । आखिर यसको समाधान भनेकै राष्ट्रियताको मामलामा सबै एक हुने हो र स्वदेशी र विदेशी एनजीओ र आईएनजीओको फैलावट रोक्ने, माटो सुहाउँदो व्यवस्था रोज्ने । अबको विकल्प नै यही हो ।
–खिमराज गिरी, काठमाडौं
![[Letter to the editor] Alternative search policy](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)