यो संकटको घडीमा जिम्मेवारी सरकारको मात्र होइन– विपक्ष, मिडिया र हरेक नागरिकको उत्तिकै छ । सामाजिक सञ्जालमा उत्तेजक सामग्री र अफवाह फैलाउन तत्काल रोकिनुपर्छ ।
What you should know
नेपाल अहिले इतिहासकै संवेदनशील मोडमा उभिएको छ । राजनीतिका नाममा उक्साहट, आत्मरक्षाका नाममा भ्रम र आन्दोलनका नाममा प्रतिशोधका विषालु बीउ छरिँदै छन् । जेन–जी आन्दोलनको आँधी, त्यसपछिका तीखा राजनीतिक प्रतिक्रिया र सत्ता–विपक्षबीचको तिक्ततापूर्ण आरोप–प्रत्यारोपले देशलाई गृहयुद्धको खतरनाक किनारातिर धकेलिरहेको छ ।
यो घडी कुनै व्यक्तिगत महत्त्वाकांक्षा वा नायकत्व प्रदर्शनको समय होइन– संयम, जिम्मेवारी र दूरदर्शिता अपनाउने कठिन परीक्षा हो ।
राजनीतिक दलहरूबीचको टकराव अब वैचारिक बहसमा सीमित छैन । यो सडकको ‘ग्याङ वार’ तर्फ उन्मुख छ । सामाजिक सञ्जाल र केही मिडियामा फैलिरहेका उत्तेजनात्मक टिप्पणी, अपुष्ट समाचार र ‘नायक–खलनायक’ का कथानकले आगोमा घिउ थपिरहेका छन् । नेताहरूका आत्मरक्षात्मक र भावनात्मक बयानले कार्यकर्तालाई उत्तेजित बनाउँदै छन्, जसको परिणाम नियन्त्रणबाहिर गएर विनाश निम्त्याउन सक्छ । जेन–जी आन्दोलनका क्रममा प्रहरीले प्रयोग गरेका करिब १२ सय घातक हतियार विभिन्न असन्तुष्ट समूहका हातमा पुगेका छन् । यदि यी हतियार राजनीतिक भिडन्तमा प्रयोग भए भने परिणाम ‘राजनीतिक परिवर्तन’ होइन, नागरिक संहार हुनेछ । यस्तो त्रासदीको जिम्मेवारी कसैले लिन सक्दैन ।
यो संकटको घडीमा नेतृत्वको भूमिका निर्णायक छ । विशेषगरी तत्कालीन गृहमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गम्भीर प्रश्न उठेका छन् । नैतिकताका आधारमा जनतासँग माफी माग्दै स्वैच्छिक रूपमा अनुसन्धान प्रक्रियामा सहभागी हुनु उनीहरूको जिम्मेवारी हो । आत्मसमर्पणको साहस देखाउनुले हिंसाको सम्भावना घटाउनुका साथै सत्य उजागर गर्नेछ । यस्तो कदमले जनविश्वास पुनःस्थापित गर्नुका साथै उनीहरूको दल र देशको राजनीतिक संस्कृतिलाई स्वस्थ दिशामा लैजान सक्छ । कार्यकर्तालाई पनि संयम अपनाउन आग्रह छ– प्रतिशोधको बाटोले नेतृत्वको रक्षा गर्दैन, बरु देशलाई गर्तमा धकेल्छ ।
जेन–जी आन्दोलन युवा पुस्ताको आक्रोश मात्र होइन, असमर्थ र दिशाहीन नेतृत्वप्रति गहिरो चेतावनी हो । यो क्रोधलाई हिंसात्मक बाटोतिर मोडियो भने यो ऊर्जा विध्वंसमा परिणत हुनेछ । नेतृत्वले बुझ्नुपर्छ– सत्ता प्राप्ति ठूलो होइन, देशमा शान्ति र स्थिरता कायम राख्नु नै ऐतिहासिक उपलब्धि हो । यो आन्दोलनलाई संवाद र सुधारको अवसर बनाउन सकिन्छ, तर त्यसका लागि नेतृत्वमा इमानदारी र जवाफदेहिता आवश्यक छ ।
यो संकटको घडीमा जिम्मेवारी सरकारको मात्र होइन– विपक्ष, मिडिया र हरेक नागरिकको उत्तिकै छ । सामाजिक सञ्जालमा उत्तेजक सामग्री र अफवाह फैलाउन तत्काल रोकिनुपर्छ । राजनीतिक दलहरूले कार्यकर्तालाई उक्साउन छोडेर संवाद र सहमतिको बाटो रोज्नुपर्छ । हामी सबैले बुझ्नुपर्छ आगो सल्काउन सजिलो छ, तर निभाउन असम्भव ।
नेपालको भविष्य हाम्रै हातमा छ । यो देश उक्साहटको आगोले जल्ने कि संयम र सहकार्यले बाँच्ने, हामीले नै तय गर्नुपर्छ ।
–सन्तोष सिम्खडा, टोकियो, जापान
