प्रकृतिसँग हारेर जितौं

हुँदाहुँदै यी सबै क्षेत्रमा अचेल त रोबोट तथा एआईले मानिसलाई नै विस्थापित गराउलान् कि भनेजस्तो अवस्था उत्पन्न भइसक्यो ।

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

Let's lose to nature and win

What you should know

वैज्ञानिक उन्नतिका कारण आधुनिक मानवीय जीवन ज्यादै आरामदायी र सुखदायी बनेको छ । एक प्रकारले सोच्दा विज्ञानले प्रकृतिलाई नै चुनौती दिएजस्तो देखिन्छ । जितेजस्तो देखिन्छ । 

पृथ्वीका अनेकौं नदी थुनिएका/बाँधिएका छन् । आकाशमा कृत्रिम वर्षा गराइएको छ । मानिसका विभिन्न अंग प्रत्यारोपण गरिएका छन् । भूमिगत रेलमार्ग बनाइएका छन् । अन्तरिक्ष अन्वेषणका कार्य भएका छन् । हुँदाहुँदै यी सबै क्षेत्रमा अचेल त रोबोट तथा एआईले मानिसलाई नै विस्थापित गराउलान् कि भनेजस्तो अवस्था उत्पन्न भइसक्यो ।

यति हुँदाहुँदै पनि प्रकृतिका सामु विज्ञान निरीह नै छ जस्तो लाग्छ किनभने विज्ञानले वर्षौं लगाएर जति उन्नति गरे पनि प्रकृतिको एउटा सानो बलले त्यसलाई भताभुंग र तहसनहस बनाइदिन्छ ।

हाम्रा पुर्खाहरू प्रकृतिको महत्त्व बुझ्थे । उनीहरूले प्रकृतिलाई देवीका रूपमा पुजेर, उसको सन्तुलनलाई कायम राख्दै सयौं वर्षसम्म टिकेर बसे । आज हामी ‘आधुनिकता’को नाटक गर्दै प्रकृतिसँग अघोषित युद्ध घोषणा गरेर आफैं संकट निम्त्याउँदै छौं ।

हामीले प्रकृतिसँग युद्ध रोकेर सामञ्जस्यको मार्ग अपनाउनु बुद्धिमानी ठहर्छ । हाम्रा पुर्खाहरूको जीवनशैलीबाट शिक्षा लिई, प्रकृतिसँग मित्रता गर्नुपर्छ । नत्र, इतिहासले गरेजस्तो प्रकृतिले हामीलाई पनि सधैंका लागि सिध्याउन सक्छ ।

प्रकृतिसँग खेलबाड नगरी मानिस आफूआफूमा मिलेर बस्नुमा नै कल्याण छ । यो सत्य नै हाम्रो जीवनको सर्वोच्च सिद्धान्त हो । प्रकृतिलाई शत्रु मानेर विजय गर्ने प्रयासले हामी आफैं विनाशतर्फ धकेलिँदै छौं । हाम्रो वास्तविक कल्याणको मार्ग प्रकृतिसँगको सहअस्तित्वमा नै छ । नेपालको भौगोलिक विविधताले यो सबक अझै प्रबल बनाउँछ । हाम्रो सांस्कृतिक धरोहर, हाम्रा चाडपर्व, हाम्रो जीवनशैली– सबै प्रकृतिको चक्रसँग जोडिएको छ । त्यसैले पनि प्रकृतिलाई जित्न खोजेर होइन, ऊसँग मिलेर र हार्न खोजेर सम्झौता गर्नु नै वास्तविक बुद्धिमानी ठहरिन्छ । –इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

कान्तिपुर

Link copied successfully