अग्रिम टिकट बुकिङ गर्न लाइन लाग्न नपर्ने, सहजै टिकट पाउन सकिन्छ भनिन्छ तर सरासर काउन्टरमा जाँदा सिट छैन, मुढामा बस्नुपर्छ आदि टर्रो जवाफ फर्काइन्छ ।
काठमाडौँ — काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट बाहिरिने करिब २० लाख यात्रीमध्ये करिब ८० प्रतिशतले सार्वजनिक यातायात प्रयोग नगरी सुखै छैन । यही मौका पारेर यातायात व्यवसायीले यात्रीलाई सकेसम्म अलमल र अनेक बहानामा दुःख दिएर चर्को भाडा असुल्ने र खाँदाखाँद गरेर चलाउने धन्धा पुरानै हो ।
यसै विषयमा केन्द्रित रहेर कान्तिपुरमा प्रकाशित ‘दसैंका २० लाख यात्रु, अग्रिम टिकट नखुल्दा अन्योल’ शीर्षक सम्पादकीय सटीक लाग्यो ।अहिले त नयाँ सरकार गठन भएका बेला सबैतिर ध्यान पुग्न नसकेको अवस्थामा सरकारप्रति गुनासो गर्ने ठाउँ भएन । यस्तो अवस्थामा यातायात व्यवसायीले यात्रीको मर्कालाई आत्मसात् गरेर सजिलोसँग गन्तव्यमा पुर्याउने व्यवस्था गर्नुपर्ने हो ।
सरकारबाट यात्री सकेसम्म ठगिन नपरोस् भनेर १४ स्थानमा यात्री सहायता कक्ष स्थापना गरिएको छ, जसलाई सरोकारवाला यातायात व्यवसायीले कार्यान्वयन गर्नुपर्ने हो । तर कार्यान्वयनको पक्ष भने साह्रो उदेकलाग्दो छ । थोत्रा बस, सिट क्षमताभन्दा बढी यात्री कोच्ने, दाहोरो, तेहरो टिकट बिक्री गरेर यात्रीलाई दुःख, सास्ती पुर्याउने बानी नै परेको छ ।
दसैंअगाडि सरकारी पक्ष र यातायात व्यवसायी संगठनबीच बैठक बस्ने गर्छ । सो बैठकमा सरकार र यातायात व्यवसायीबीच यात्रीको पीर–मर्कालाई ध्यानमा राखेर सकेसम्म सजिलोसँग गन्तव्यसम्म पुर्याउनेजस्ता सहमति भएका हुन्छन् । तर विद्यमान भाडामा यात्रीलाई सहजीकरण गर्नेतर्फ व्यवसायीहरू सकारात्मक देखिन्नन् ।
अग्रिम टिकट बुकिङ गर्न लाइन लाग्न नपर्ने, सहजै टिकट पाउन सकिन्छ भनिन्छ तर सरासर काउन्टरमा जाँदा सिट छैन, मुढामा बस्नुपर्छ आदि टर्रो जवाफ फर्काइन्छ । यसबेला त रुट परमिट खुला हुँदा जस्तासुकै अवस्थाका साधन चलाउने, लामो दूरीमा दुई जना चालक राख्नुपर्ने नियम बनाए पनि कहिल्यै कार्यान्वयन नहुने, भेडाबाख्राझैं खाँदेर यात्रीलाई ओसार्ने, बीच बाटोमा लगेर छोडिदिनेजस्ता यातना सहन बाध्य हुनुपरेको छ ।
अरू बेला त यस्ता थुप्रै दुःख, सास्ती र दोहोरो टिकट महसुल खर्च सहन बाध्य हुनु त नियति बनिसकेको छ । तथापि राष्ट्रिय पर्व दसैं–तिहारका लागि यात्रा गर्नुपर्दा त कम्तीमा सुधारिएको सडकको अवस्था, राम्रो अवस्थाका सवारीसाधन, दुई सय किलोमिटरभन्दा लामा दूरीका बसमा दुई जना चालकको व्यवस्था, सहचालकको राम्रो व्यवहार, एक पटक टिकट लिएपछि यात्रा मिति, गन्तव्य ढुक्क रहन र झन्झट र तनावबिना सजिलैसँग पुग्न पाइयोस् ! तर त्यसको उल्टो यातायात व्यवस्था चालु नभए पनि यात्रीलाई यात्रा गर्न नपाइने चिन्ता र तनाव, चालु भए पनि यात्रीलाई ठग्न, दुर्व्यवहार गर्न नछोड्ने व्यवस्था हटाएर यात्रीको हक र कर्तव्यको पालना हुने व्यवस्था कहिले आउला ? –गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची
