पूर्वप्रधानमन्त्रीलगायत भीआईपीको सुविधामा रोक लगाइएजस्तै राष्ट्रिय सभा सदस्यको सुविधा पनि घटाइदिने । अनावश्यक हुँदाहुँदै पनि, गणतन्त्र र संघीयताबाट जन्मिएका अनेक सुविधाभोगी आयोग, नियोग, निकाय, व्यक्तिका सुविधा सबै घटाइदिने ।
काठमाडौँ — सरकारले खर्च कटौती र भ्रष्टाचार नियन्त्रणका विषयमा चालेका केही कदम निश्चय नै प्रशंसनीय छन् । तर, जनता तुरुन्तै (फागुन २१ पछिसम्म पनि पर्खन नसक्ने गरी) ठूलो परिवर्तन चाहन्छन् । प्रतिनिधिसभा विघटन भएजस्तै प्रदेशसभा खारेज भएको सुन्न चाहन्छन् ।
प्रदेशसभा हाललाई खारेज गर्नै नमिल्ने/नसकिने हो भने पनि देशको कमजोर आर्थिक अवस्थाका कारण तिनलाई उपलब्ध गराउने गरिएको सुविधा त घटाउन सकिएला नि ! मितव्ययिताकै सन्दर्भमा कुरा गर्दा स्थानीय तहका पदाधिकारीको सुविधा पनि घटाउन सकिन्छ । जिल्ला समन्वय समितिको काम पनि खासै भएजस्तो लाग्दैन । घटाउनुपर्नेबाट घटाएर बचेको रकम बढाउनुपर्नेका लागि बढाइदिन सकिन्छ ।
भूमि समस्या समाधानका लागि स्थापित ‘भूमि समस्या समाधान आयोग’ खारेज गर्नु ज्यादै राम्रो कुरा हो । त्यस्तै संविधानतः स्थापित कतिपय अन्य आयोगको पनि के काम छ ? तिनलाई खारेज गर्नै नमिल्ने हो भने तिनका लागि पनि उपलब्ध गराउँदै आइएको सेवा सुविधा घटाइदिने ।
पूर्वप्रधानमन्त्रीलगायत भीआईपीको सुविधामा रोक लगाइएजस्तै राष्ट्रिय सभा सदस्यको सुविधा पनि घटाइदिने । अनावश्यक हुँदाहुँदै पनि, गणतन्त्र र संघीयताबाट जन्मिएका अनेक सुविधाभोगी आयोग, नियोग, निकाय, व्यक्तिका सुविधा सबै घटाइदिने ।
यसो गर्दा सरकारलाई लाज लाग्ने कुरो आउँदैन । बरु यसरी नाम मात्रको पाउने गरी सुविधा घटाइदिएपछि लाजै लागेर पनि ‘तिनीहरू’ पद त्याग्न बाध्य हुनेछन् ।
यसो गर्दै गएर निर्वाचन प्रणाली, जनप्रतिनिधि र राजनीतिलाई नै यस्तो सेवामूलक कार्यमा रूपान्तरण गरिदिने कि साँच्चै समाज र देशको सेवा गर्ने इच्छा भएका असल नेपाली मात्र नेताका रूपमा उदाउन सकुन् । लाग्छ– देश र जनताको पक्षमा यस्ता असल कामको जग बसाउन संविधान बाधक बन्दैन र फागुन २१ पछि बन्ने सरकार पर्खिरहनु पनि पर्दैन ।–इन्द्रकुमार श्रेष्ठ, हाल सिर्जनानगर, भक्तपुर
