त्यसैले माओवादी केन्द्रका अध्यक्ष दाहालको ‘उथलपुथल आउने’ दाबी र जेन–जी आन्दोलन संयोग मात्रै हुन् ।
काठमाडौँ — १० माघ २०८१ मा कान्तिपुरमा प्रकाशित ‘जेन–जीलाई जोड्दै माओवादी’ आलेखको चर्चा निकै चल्यो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले उक्त आलेख लेखेका थिए ।
यसै क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘अब देशमा केही उथलपुथल हुन्छ र यस्तो आन्दोलन हुन्छ कि एकैचोटि सत्ताधारीलाई सिंहदरबार र बालुवाटारबाट लेखेटिनेछ’ भन्ने उद्घोष पनि गरे । आखिर संयोगवश बाघ कराउनु र बाख्रा हराउनु सँगसँगै जस्तो भयो ।
गत भदौ २३ को जेन–जी आन्दोलनको उद्देश्यमा सामाजिक सञ्जाल खुलाउने, पुराना नेताहरूले सत्तामा बसेर गरेको भ्रष्टाचारको अन्त्य गर्ने र नयाँ पुस्तालाई मौका दिने जस्ता माग समेटिएका थिए ।
वास्तवमा जेन–जीले गरेको आन्दोलनकै बलमा मुलुकमा परिवर्तन सम्भव भएको हो । यो परिवर्तनमा समाजका धेरै कडी जोडिएका होलान् तर कुनै दल विशेषको भूमिका भने यस आन्दोलनमा देखिँदैन । त्यसैले माओवादी केन्द्रका अध्यक्ष दाहालको ‘उथलपुथल आउने’ दाबी र जेन–जी आन्दोलन संयोग मात्रै हुन् ।
जेन–जी पुस्ता प्रविधिमा निपुण, सामाजिक रूपमा सचेत र विश्वव्यापी रूपमा विविध प्रविधिसँग जोडिएको पनि छ । त्यसैले युवाकेन्द्रित कार्यक्रम ल्याउनका लागि सरकारमा जुनसुकै दल या बुद्धिजीवी सामेल भए पनि विलम्ब गर्नु हुँदैन । जेन–जीका माग तुरुन्तै सम्बोधन गरिनुपर्छ । –खिमराज गिरी, काठमाडौं
