सुरक्षाका निमित्त खटाइएका प्रहरी कता छन्, के गर्दै छन्– त्यो पनि थाहा भएन । जनताले हारगुहार गर्ने ठाउँसमेत छैन ।
काठमाडौँ — यतिबेला समाज त्रसित छ । न सुरक्षा निकाय चुस्तदुरुस्त देखिएको छ, न त जनताले आफ्नो सुरक्षा आफैं गर्न सकेका छन् । दिनदहाडै हतियार बोकेर समाजलाई त्रसित बनाउँदै हिँड्नेहरू बाक्लै छन् ।
भर्खरै मात्र जोरपाटीमा खाना खान लागिरहेकी महिलामाथि चार जनाको समूहले खुकुरी प्रहार गरेर घाइते बनायो । ती आक्रमणकारी को थिए, किन आक्रमण गरे भन्ने कुरा केही खुलेको छैन । सुरक्षाका निमित्त खटाइएका प्रहरी कता छन्, के गर्दै छन्– त्यो पनि थाहा भएन । जनताले हारगुहार गर्ने ठाउँसमेत छैन ।
नवनियुक्त गृहमन्त्रीज्यूलाई प्रहरीको हेडक्वार्टर जाँदै ठिक्क छ । गर्नुपर्ने काम के हो, त्यता उहाँको ध्यानै गएको छैन । म कुन परिस्थिति र समस्याका बीच गृहमन्त्री भएँ भन्ने हेक्का उहाँलाई हुन जरुरी छ । प्र्रहरीको हेडक्वार्टर घुमेर सलामी खाँदैमा केही हुँदैन । गर्नुपर्ने काम गर्नुपर्यो ।
पहिलो कुरा जनताका लागि के गर्न सकिन्छ, त्यस विषयमा छलफल हुन पर्यो । नत्र हिजो र आजमा के फरक भयो त ? हिजो दलका थिए, आज दलबाहिरका छन् । त्यतिमात्र होइन ? कानुन बुझेका गृहमन्त्रीले केही राम्रो काम गर्लान् भन्ने सोचेका थिए जनताले तर त्यो केही देखिएन । प्रहरीको सरुवा गरेर मात्र आफ्नो कतर्व्य पूरा हुँदैन । हिजो पनि प्रहरी हेरफेर नभएको होइन । यसले समस्याको हल गर्दैन ।
प्रहरीलाई राजनीतिक नेताको इसारामा होइन, चेन अफ कमान्डमा चल्नुपर्छ भन्ने बनाउन आवश्यक छ । गृहमन्त्रीज्यू, अब त परिणाममुखी काम हुनुपर्यो । दसैं, तिहारजस्ता चाडबाड नजिकिएका छन् । समाजमा जेलबाट भागेका अपराधीहरूको बिगबिगी छ । सुरक्षाकर्मीका हतियार लुटेर भागेकाहरूले समाजमा त्रास फैलाउँदै छन् । यसका लागि प्रहरीले निगरानी गरेको पाइँदैन । देशको हालत यस्तो खराब छ । कसले दिने जनताको सुरक्षा ? –पुरुषोत्तम घिमिरे, जोरपाटी काठमाडौं
